विराटनगर : नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले लोकतन्त्र सबल र संस्थागत भएपछि मात्र श्रम आन्दोलन सशक्त हुनसक्ने बताएका छन् ।
जिफन्ट कोशी प्रदेश कमिटीले सुरु गरेको ‘बदलिएको राजनीतिक परिवेशमा श्रमिकहरूसँग संवाद अभियान’ शुभारम्भ गर्दै अध्यक्ष श्रेष्ठले लोकतान्त्रिक मूल्य र सिद्धान्त कमजोर हुँदा श्रमिक आन्दोलन पनि कमजोर हुने बताए।
विराटनगरमा मंगलबारदेखि सुरु भएको सो अभियानको उद्घाटन गर्दै उनले जेनजी आन्दोलनका नाममा भएको हिंसा र विध्वंशले देशमा राजनीतिक संकट निम्त्याएको उल्लेख गरे । “अहिलेको सरकार असंवैधानिक छ,” उनले भने, “विघटित संसदको पुनःस्थापना गरेर संविधानको पूर्ण कार्यान्वयन र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नुपर्छ भन्ने जिफन्टको स्पष्ट धारणा हो।”
श्रेष्ठका अनुसार, जेनजी आन्दोलनपछि बनेको असंवैधानिक सरकारले लिएका निर्णयहरूले श्रमिकहरूलाई क्रमशः विस्थापित बनाइरहेको छ । उनले अभियानमार्फत श्रम बजारमा परेको क्षति र श्रमिकहरूको जीवन–रोजगारीमा पारेको असरबारे प्रत्यक्ष छलफल गरिने जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले श्रमिकहरूलाई समस्याबाट उन्मुक्ति र डरमुक्त वातावरण सिर्जनाका लागि जिफन्टका सम्पूर्ण नेतृत्व परिचालन हुनुपर्ने आवश्यकता औंल्याए ।
उनले जेनजी घटनाका क्रममा देशभरका उद्योग, कलकारखाना, निजी संरचना, होटल तथा रेष्टुरेन्टहरूमा भएको क्षतिका कारण ठूलो संख्यामा श्रमिकहरूले रोजगारी गुमाएको र त्रासमा बाँचेको बताए। ती श्रमिकहरूको सुरक्षा र पुनर्स्थापनाका लागि जिफन्टले यो संवाद अभियान सञ्चालन गरेको उनको भनाइ थियो ।
कोशी प्रदेशमा अभियान सञ्चालनका लागि जिफन्ट उपाध्यक्ष विदुर कार्कीको संयोजनमा सचिव बेलीमाया घले, राष्ट्रिय कमिटी सदस्यहरू भीमज्वाला राई, सन्तकुमार राई, किशोर धमला र माया भण्डारी रहेको टोली गठन गरिएको छ ।
अभियानका संयोजक कार्कीका अनुसार, जिफन्ट आवद्ध विभिन्न घटक युनियनका केन्द्रीय नेतृत्वलाई समेत अभियानमा सहभागी गराइने र प्रदेशभरका प्रतिष्ठानमा पुगेर प्रत्यक्ष संवाद गरिने योजना रहेको छ ।
प्रतिक्रिया