ललितपुरमा स्कुटर ठक्कर दिएर महिलाको सुनको सिक्री लुट्ने समूहका एक सदस्य पक्राउ

मंगलबार, २५ कार्तिक २०८२

ललितपुर : ललितपुर प्रहरीले स्कुटरलाई ठक्कर दिई महिलाको सुनको सिक्री लुट्ने समूहका एक सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–१४ ठैव बस्ने ३० वर्षीय गंगेबहादुर तामाङ रहेका छन् ।

प्रहरीका अनुसार गत असोज ५ गते राति करिब १२ बजे ललितपुर–४, जावलाखेलस्थित चिडियाखानाको पश्चिमतर्फको बाटोमा लुटपाटको घटना भएको थियो ।

बागलुङकी ३७ वर्षीया भिमकुमारी सिर्पाली सवार बा.५२ प. १३९२ नम्बरको स्कुटरलाई तामाङसहितको समूहले बा.९३ प. ३७६७ नम्बरको स्कुटर र अन्य दुईवटा नम्बर नखुलेका मोटरसाइकलले ठक्कर दिएका थिए । ठक्करबाट सिर्पाली घाइते भएपछि समूहले करिब ११ लाख रुपैयाँ मूल्य पर्ने सुनको सिक्री लुटी फरार भएको प्रहरीले जनाएको छ ।

पीडित सिर्पालीले असोज १० गते प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरी र लुटपाटमा प्रयोग भएको स्कुटरको नम्बरका आधारमा प्रहरीले सोमबार साँझ तामाङलाई नियन्त्रणमा लिएको हो ।

सोधपुछका क्रममा तामाङले आफू सहित छ जनाको समूह मिलेर लुटपाट गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाएको छ भने घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी तीव्र रूपमा जारी रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार