इलाम : “भागेर ज्यान त जोगाइयो तर अहिले पनि हालत उस्तै छ,” इलाम नगरपालिका–१०, गोदककी कन्चन लिम्बुले बाढीपछिको पीडा सुनाइन्। असोज १८ गते आएको विनाशकारी बाढीपछि उनी नेपाली सेनाले निर्माण गरेको अस्थायी वासस्थानको पालमुनि दुई स–साना बालबालिकासहित बस्दै आएकी छन्।
“भएका लत्ता–कपडा र भाँडा–वर्तन सबै बाढीले लग्यो, शरीरमा लगाएको एक सरो मात्र बच्यो,” उनले भनिन्। माई खोलाको टापुमा घर बगाएर विस्थापित भएकी जानुका परियारको पीडा पनि उस्तै छ। “सङ्घ, संस्था र स्थानीय सरकारले सहयोग गरे पनि पर्याप्त छैन,” उनी भन्छिन्, “खानका लागि चामल र तरकारी त छ, तर राति चिसो भुईँमा सुत्नु पर्छ।”
त्यही टापुकी अर्की पीडित सुक माया तामाङ भन्छिन्, “दिउँसो त ठिकै हो, राति भएपछि सुतेकै ठाउँमा शीत झर्छ।” त्रिपालमुनि म्याट ओछ्याएर रात बिताउनुपर्ने बाध्यता छ।
बाढीपीडितहरूले पर्याप्त राहत नपाएको गुनासो गर्छन्। चिसो बढ्दै गएसँगै स्थानीय सरकारले वितरण गरेको प्लास्टिकको म्याट र सामान्य कम्बलले ज्यान जोगाउन गाह्रो भएको उनीहरूको भनाइ छ। विशेष गरी सुत्केरी, गर्भवती महिला, दीर्घरोगी र वृद्धवृद्धालाई समस्या बढी छ।
सानो बच्चा काखमा च्यापेर पालमुनि बस्दै आएकी कन्चन लिम्बुका परिवारका सदस्यहरूसँग नागरिकता नभएकाले राहतबाट वञ्चित हुने डर उनीहरूमा छ। “न पोसिलो खाना छ, न तातो र सफा ठाउँमा बस्ने व्यवस्था,” उनले भनिन्।
बाढीपछि दैनिकी उस्तै दुःखद बनेको पीडितहरू बताउँछन्। “पालमुनि बस्दा रातमा शीत चुहिएर कम्बल र कपडा भिज्छन्,” एक पीडितले भने, “जाडोमा लगाउने तातो कपडा पनि छैन, दाउरा बाल्ने व्यवस्था पनि छैन।”
सरकारी तथा विभिन्न संघ–संस्थाबाट आएको राहत सीमित र असहज रहेको पीडितहरूको भनाइ छ। “पोसिलो खाने कुरा त टाढाको कुरा भयो, पकाउने भाँडाकुँडा नै छैन,” उनीहरू भन्छन्।
माई खोलाको बगरमा गिटी कुटेर गुजारा चलाउँदै आएका यी बाढीपीडितहरूको रोजगारी पनि बाढीले बगाएको छ। ढुङ्गा फुटाएर एक गाडी गिटी बनाएर २७ सयदेखि ३ हजार रुपैयाँसम्म आम्दानी गर्ने उनीहरू अहिले बेरोजगार भएका छन्। “आम्दानी गुमेपछि घर खर्च र नानीहरूको पढाइ दुबै संकटमा परेको छ,” एक पीडितले बताए।
माई खोलाको बाढीले २६ घर पूर्णरूपमा बगाएको र १० घर माटोको लेदोले पुरिएको इलाम जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सो बाढीका कारण जिल्लाभर ३९ जनाको मृत्यु भएको, ३३६ घर पूर्ण क्षतिग्रस्त र ८२८ घर आंशिक क्षतिग्रस्त भएको तथ्यांक छ। हाल ११ परिवार सामुदायिक भवनमा र ४३८ परिवार आफन्त वा छिमेकीकामा आश्रय लिएर बसिरहेका छन्।
सरकारले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ, तर पीडितहरूले त्यसको प्रभाव महसुस गर्न सकेका छैनन्। स्थायी बासस्थानको टुंगो नलागेसम्म कम्तीमा पनि तातो ओढ्ने ओछ्याउने सामग्री र पोसिलो खानेकुराको तत्काल व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
प्रतिक्रिया