काठमाडौँ : नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवार चयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। ललितपुरको बी.पी. नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ११० जना समानुपातिक उम्मेदवार चयनका लागि आवश्यक मापदण्ड तयार गरेको हो।
बैठकले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउन र आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने उद्देश्यले महत्वपूर्ण साङ्गठनिक निर्णयहरू समेत गरेको छ।
विद्रोही र कारबाहीमा परेकालाई माफी
कांग्रेसले विगतका निर्वाचनहरूमा पार्टीको आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवार विरुद्ध बागी बनेका, उनीहरूको प्रस्तावक वा समर्थक बसेका तथा असहयोग गरेका कारण अनुशासनको कारबाहीमा परेका नेता-कार्यकर्ताहरूलाई माफी दिने निर्णय गरेको छ। केन्द्रीय अनुशासन समितिबाट निष्कासन वा निलम्बनमा परेका तथा विधान बमोजिम स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि मिनाहा गरिएको छ। यस्ता व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता दिँदै नवीकरण गर्ने निर्णय समेत बैठकले गरेको छ।
पार्टी परित्याग गरेकालाई घर फर्कन आह्वान
विभिन्न कारणले विगतमा पार्टी परित्याग गरी स्वतन्त्र बसेका वा अन्य राजनीतिक दलमा आबद्ध भई उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई कांग्रेसले पुनः पार्टीमा फर्कन हार्दिक आह्वान गरेको छ। यसरी फर्किने नेता-कार्यकर्ताहरूलाई पार्टीले क्रियाशील सदस्यतासहित उपयुक्त जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
बौद्धिक र व्यावसायिक क्षेत्रसँग सहकार्य
नेपाली कांग्रेसले विभिन्न पेसा र व्यवसायमा आबद्ध भई लोकतान्त्रिक विचार राख्ने बौद्धिक व्यक्तित्वहरूलाई पार्टीमा सक्रिय भूमिका निभाउन आग्रह गरेको छ। मुलुकको समग्र हित र लोकतन्त्रको रक्षाका लागि बौद्धिक एवं व्यावसायिक क्षेत्रसँग विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय कांग्रेसले लिएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको अर्को बैठक पुस १३ गते आइतबार बिहान ११:०० बजे पुनः केन्द्रीय कार्यालयमा बस्नेछ।
प्रतिक्रिया