काठमाडौँ : रामेछापकी फुर्वा शेर्पा त्रिभुवन विश्वविद्यालयको व्यापार प्रशासन (बिबिए) कार्यक्रममा सर्वोत्कृष्ट भएकी छन् । ३.९८ जिपिए प्राप्त गर्दै उनले भाइस–चान्सलर पदक हात पारेकी हुन् । नेपालमै उच्च शिक्षा हासिल गरी देशकै सेवामा समर्पित हुने इच्छा व्यक्त गर्दै उनले विदेश जाने कुनै रुचि नरहेको बताइन् ।
‘मैले आर्जन गरेको ज्ञान र सिप यही देशमै लगानी गर्न चाहन्छु,’ उनले भनिन्, ‘मेरो उच्च शिक्षा प्राप्ति व्यक्तिगत उपलब्धि मात्र होइन, राज्यको पनि हो । त्यसैले म आफ्नै देशमा सेवा गर्न चाहन्छु ।’
गोल्ड मेडल प्राप्त गर्ने क्रममा शेर्पाले पाठ्यक्रमसँग सम्बन्धित विषयमा विदेशका विभिन्न भाषाका पुस्तक अध्ययन गर्दा परीक्षामा लेखन र अङ्क प्राप्त गर्न सहज भएको अनुभव पनि सुनाइन् । पाठ्यपुस्तकबाहेकका अतिरिक्त सामग्री अध्ययन गर्नु विद्यार्थीका लागि उपयोगी हुने उनको बुझाइ छ ।
स्नातकोत्तर तहमा राजनीतिशास्त्र विषयबाट प्रतिभा पौडेल विश्वविद्यालय गोल्ड मेडलिस्ट बनेकी छन् । उनले वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार पनि प्राप्त गरिन् ।
विद्यार्थी राजनीतिमा सक्रिय रहँदै उत्कृष्ट नतिजा ल्याएकी पौडेलले भविष्य प्राज्ञिक क्षेत्रमा देखेको बताइन् । उनी नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थी नेतृ पनि हुन् ।
‘लामो समयदेखि राजनीतिमा आबद्ध छु । राजनीतिबाट टाढा हुनु हुँदैन तर पछिल्लो समय राजनीति सेवाभन्दा व्यापारमुखी बन्दै गएको छ, जुन राम्रो होइन,’ उनले भनिन्, ‘यसलाई सुधार गर्न हामीजस्ता युवाको खाँचो छ । हामीबाटै सुधारको प्रयास हुनुपर्छ ।’
राजनीति गर्ने विद्यार्थी पढ्दैनन् भन्ने धारणा गलत रहेको उल्लेख गर्दै पौडेलले भनिन्, ‘राजनीति गर्दै अध्ययन गर्ने, वैचारिक बहस गर्ने विद्यार्थीहरू पनि प्रशस्तै छन् । यस्तो जबरजस्त भाष्य चिर्न हामीले गहिरो अध्ययन र कडा मेहनत गर्नुपर्छ ।’
एमए अर्थशास्त्रतर्फ कमल पौडेलले पनि सर्वोत्कृष्ट नतिजा ल्याउँदै तीनवटा पदक जितेका छन् । सरकारी सेवामा कार्यरत पौडेलले जागिरसँगै अध्ययन गरेर सफलता हासिल गरेको बताए । ‘सानैदेखि अर्थशास्त्र बुझ्ने भोक थियो । जागिरका बाबजुद बिहान, दिउँसो, साँझ, बिदा र फुर्सदको समय मिलाएर अध्ययन गरेँ,’ उनले भने, ‘त्यसकै परिणाम राम्रो आयो ।’
जागिर गरेर पढ्न गाह्रो हुन्छ भन्ने धारणा गलत रहेको उल्लेख गर्दै उनले निरन्तर अध्ययन गरेमा सफलता सम्भव हुने बताए ।
गोरखा नारेश्वरका आर्किटेक्चर इन्जिनियर सौरभ कोइरालाले त्रिभुवन विश्वविद्यालयको एमए समाजशास्त्रमा ३.७० जिपिएसहित सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन् । समाज बुझेर डिजाइन र योजना गर्नुपर्ने महसुसपछि समाजशास्त्र रोजेको उनले बताए । आंशिक रूपमा इन्जिनियरिङ कार्य गर्दै अध्ययन गरेका कोइरालालाई त्रिविको ५१औँ दीक्षान्त समारोहमा सुमन रिजाल पदक प्रदान गरिएको छ ।
‘देशमै बसेर समाजशास्त्र र इन्जिनियरिङलाई जोडेर अनुसन्धान गर्ने लक्ष्य छ । निकट भविष्यमा सरकारी क्षेत्रसँग जोडिएर काम गर्ने सोचमा छु,’ उनले भने ।
शेर्पा, पौडेलद्वय र कोइराला प्रतिनिधि विद्यार्थी मात्र हुन् । त्रिभुवन विश्वविद्यालयका झन्डै तीन दर्जनभन्दा बढी शैक्षिक विभागबाट उच्च अङ्क प्राप्त गर्ने थुप्रै विद्यार्थीहरू छन् । उनीहरूले देश र जनताका लागि सराहनीय कार्य गरिरहेको त्रिवि राजनीतिशास्त्र (शिक्षा) केन्द्रीय विभागका प्रमुख तथा सहप्राध्यापक श्याम फूएलले बताए ।
विद्यार्थीहरूको नतिजाले आफूहरू निकै खुसी भएको बताउँदै फूएलले भने, ‘हामीले वर्षौँदेखि गरेको मेहनत विद्यार्थीमार्फत फलेको देख्दा गर्व लाग्छ । आफ्नै देशमै केही गरून् भन्ने चाहना हाम्रो पनि हो ।’
त्रिविमा अध्ययन गर्ने अधिकांश विद्यार्थी निम्न र मध्यमवर्गीय पृष्ठभूमिका रहेको उल्लेख गर्दै उनले विद्यार्थीहरू अपेक्षाभन्दा गहिरो अध्ययन गर्ने भएकाले उत्कृष्ट नतिजा ल्याउने गरेको बताए ।
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले ज्ञानलाई सेवासँग, सिपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न आग्रह गरिन् । चार लाखभन्दा बढी विद्यार्थी रहेको विश्वविद्यालयमा प्राध्यापक–विद्यार्थी अनुपात सन्तुलनमा राख्दै गुणस्तरीय शिक्षा दिनु चुनौतीपूर्ण रहेको उनले उल्लेख गरिन् ।
प्रमुख अतिथि तथा सन् २०१५ का भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक डा. ताकाआकी काजिताले निरन्तर खोज, अनुसन्धान र अध्ययनबाटै विश्वस्तरीय उपलब्धि सम्भव हुने अनुभव साझा गरे ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनले अबको विश्वमा डिग्रीभन्दा सिप र क्षमतालाई बढी महत्त्व दिइने उल्लेख गर्दै ज्ञान र सिपलाई समाज परिवर्तनमा प्रयोग गर्नुपर्नेमा जोड दिए । उपकुलपति प्राडा. दीपक अर्यालले दीक्षान्त समारोह उज्ज्वल भविष्यको सुरुवात भएको उल्लेख गर्दै सिकेको ज्ञान व्यवहारमा उतार्न आग्रह गरे ।
यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जनाले औपचारिक रूपमा दीक्षा ग्रहण गरेका छन् । काठमाडौँमा आयोजित समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मका विद्यार्थी दीक्षित भएका हुन् । दीक्षितमध्ये स्नातक तहका ११ हजार २३४, अधिस्नातक १४, स्नातकोत्तर ४ हजार ८६०, एमफिल १२० र विद्यावारिधि १५२ जना छन् । उत्कृष्ट नतिजा ल्याउने विभिन्न संकायका २२ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरिएको थियो ।
आजको मध्यान्न् दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया