विराटनगर : पूर्वी मोरङका खुला नाकाहरू हुँदै भारततिर गाईगोरु तस्करी खुलेआम भइरहेको छ । उर्लाबारी–सिजुवा सडक खण्डमा गाईगोरु लोड गरिएको पिकअपले दुर्घटना गराएपछि चलिरहेको यो अवैध धन्दा उजागर भएको हो ।
स्थानीयका अनुसार तस्करीको यो सञ्जालमा ठूलो गिरोह सक्रिय छ, जसले प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीलाई समेत मिलाएर व्यापार चलाइरहेको आरोप छ ।
शनिबार दिउँसो उर्लाबारीबाट तीव्र गतिमा सिजुवातर्फ जाँदै गरेको पिकअपले रतुवामाई नगरपालिका–८ दाम्राभिट्टामा ठक्कर दिँदा एकजना घाइते भए । पिकअपभित्र कोचाकोच गरेर राखिएका ६ वटा गाईगोरु फेला परेपछि स्थानीयले दुई अन्य पिकअपसहित १८ गाईगोरु नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए ।
तर, आश्चर्यजनक रूपमा ती गाडी र गाईगोरु केही घण्टामै प्रहरीले बिना कारबाही छाडिदिएको खुलेको छ । स्थानीय व्यवसायी नवीन अर्याल भन्छन्, “गाईगोरु निर्ममतापूर्वक कोचिएको थियो । हामीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझायौं, तर उल्टै तस्करकै पक्षमा मिलापत्र भयो ।”
उर्लाबारी–बरडंगा र सिजुवा सडक खण्ड तस्करीका मुख्य रुट बनेका छन् । दाम्राभिट्टाको बाटो हुँदै दैनिक सयौं गाईगोरु भारततिर पठाइने स्थानीयको दाबी छ । “एउटा पिकअपमा ६–७ वटा गाईगोरु हुन्छन्, दिनमा ५०–६० वटा पिकअप सजिलै चल्छन्,” अर्यालले भने ।
सुरक्षा निकायको शंकास्पद भूमिका
इलाका प्रहरी सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बूले दुर्घटनामा संलग्न गाडी मात्र नियन्त्रणमा लिइएको र गाईगोरु सम्बन्धित धनीलाई जिम्मा लगाइएको बताए । तर उनले गाईगोरु ओसारपसारका अनुमति कागजात मागिएको वा जाँचिएको विषयमा ‘सोधपुछै भएन’ भनेका छन् ।
यही मौनता र निष्क्रियताले प्रहरीको भूमिका शंकास्पद बनाएको स्थानीयको भनाइ छ । एक स्थानीय नेताले भने, “गाईगोरु तस्करीमा स्थानीय प्रहरी र सशस्त्रको मिलेमतो बिना सम्भवै छैन । उनीहरूले मासिक लाखौं रुपैयाँ बुझ्छन् ।”
खुला सीमामा खुलेआम तस्करी
मोरङका डोरिया, चुनीमारी, सिक्टी, नोचा, सोराभाग र झापाका गौरीगञ्ज, बालुबारी लगायतका नाकाबाट दैनिक सयौं गाईगोरु भारततिर पठाइन्छन् । ती गाईगोरु पश्चिम र मध्यम नेपालका जिल्लाबाट संकलन गरिन्छन् ।
राष्ट्रिय जनावर गाई कानुनतः विदेश निर्यात गर्न नपाइने भए पनि, नक्कली सिफारिस र स्वास्थ्य प्रमाणपत्रका आधारमा एक जिल्लाबाट अर्कोमा लैजाने र त्यसपछि खुला सीमा प्रयोग गरी भारत पठाइने गरेको छ ।
प्रहरी प्रमुख र सशस्त्र अनभिज्ञ !
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गाईगोरु तस्करीबारे जानकारी नभएको बताए । सशस्त्र प्रहरी प्रमुख एसपी राजेश घिमिरेले भने, “सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन दिइएको छ । मिलेमतो भेटिए कारबाही हुन्छ ।”
तर स्थानीय भन्छन् — कागजमा मात्र कडाइ, जमीनी रूपमा तस्करी झन् बढ्दो छ ।
रतुवामाई–८ का वडाध्यक्ष पुष्पबहादुर कार्कीका अनुसार, “हामीले प्रहरीलाई पटक–पटक भन्यौं । तर वास्तै गरेनन् । दैनिक ४ सयभन्दा बढी गाईगोरु दक्षिणतर्फ जान्छन् ।”
राज्यको मौनता र तस्करीको मजबुती
स्रोतका अनुसार अनुसार सशस्त्र र नेपाल प्रहरीले गाई गोरु तस्करीमा ठूलो सहयोग गरिरहेका छन् । ‘नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्रका बीओपी र प्रस्तावित गुल्म ५ देखि ७ किलोमिटरको दुरीमा छन् । सशस्त्रले चाहने हो भने तस्करीको सम्भावना नै हुँदैन । तर, नियन्त्रणमा चासै दिँदैन । नेपाल प्रहरी पनि तस्करकै सहयोगी बनेको छ,’ स्रोतले भन्यो ।
प्रतिक्रिया