काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पार्टी बनाउने भएका छन् । उनले देश विकास पार्टीको पुनर्गठन गरेर पार्टीको नेतृत्व गर्ने र चुनाबमा जाने तयारी गरेका हुन् ।
केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर चुनाबमा जाने विषयमा रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका बालेन रास्वपासँगको सहकार्य सम्मानजनक नभएको निष्कर्षमा पुगेको र नयाँ पार्टी गठन गरेर निर्वाचनमा जाने तयारी गरेको स्रोतले बतायो ।
पार्टी गठन गर्नका लागि बालेनले धेरै प्रभावशाली व्यक्तिहरुसँग छलफल गरिरहेको समेत स्रोत बताउँछ । यसका लागि आज पनि बैठक राखिएको पत्रकार ऋषि धमलाले बताए । धमला आफैं पनि बालेनको चुनाबी छलफलको एक हिस्सा हुन् ।
धमलाका अनुसार बालेनले अहिले नयाँ पार्टी गठन गरेमा निर्वाचनमा जान मिल्दैन । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभाका लागि दल दर्ताको काम पूरा गरिसकेको छ । त्यसैले उनले आयोगमा प्रतिनिधि सभा निर्वाचनका लागि यसअघि नै दर्ता भइसकेको पार्टीमार्फत चुनाबमा जाने तयारी गरेका छन् ।
बालेनले देश विकास पार्टीमार्फत चुनाब लड्ने तयारी गरेको धमला बताउँछन् । देश विकास पार्टीको चुनाब चिन्ह लौरो हो । यही लौरो चुनाब चिन्हबाट बालेनले काठमाडौं महानगरपालिकाको मेयरको चुनाब जितेका थिए । बालेनले चुनाब जितेलगत्तै लौरो चुनाब चिन्ह राखेर दर्ता भएको हाम्रो नेपाली पार्टी अहिले नाम फेरेर देश विकास पार्टी भएको छ ।
बालेनले निर्वाचन लड्नका लागि झापा क्षेत्र नम्बर ५ रोजेका छन् । यो पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनाब क्षेत्र हो ।
प्रतिक्रिया