काठमाडौं । देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै रहेको नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बताएका छन्। राजधानीको बुद्धनगरमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई आज सम्बोधन गर्दै महासचिव चन्दले अहिलेको चुनावी प्रक्रिया दोबाटोमा उभिएको उल्लेख गरेका हुन् ।
विप्लवले सरकारले प्रस्ताव गरेको निकासमा जाने वा त्यसअगावै नयाँ राजनीतिक वातावरण निर्माण गर्ने भन्ने विषयमा बहस चलिरहेको समेत सो अवसरमा बताए । ‘चुनाव अहिले दोबाटोमा उभिएको छ । हालको राज्य र सरकारले प्रस्ताव गरेको निकासमा जाने कि त्यो निकासअगावै नयाँ वातावरण बनाएर अघि बढ्ने भन्ने बहस छ । विश्वसनीयता गुमेको र अवस्था अस्वस्थ्य भएको बेला सबै पक्षले सन्तुलित ढंगले निकासतर्फ जानुपर्ने आवश्यकता छ ।’ उनले भने।
महासचिव चन्दले नेपालमा राजनीतिक संक्रमण र संकट यथावत रहेको उल्लेख गर्दै जेनजी विद्रोहपछि पनि जनताका मुख्य मागहरू सम्बोधन हुन नसकेको बताए । उनले जेन–जी आन्दोलनले सडकबाट भ्रष्टाचारीमाथि कारवाही, भ्रष्टाचारको अन्त्य, संविधान पुनर्लेखन र कार्यकारी प्रमुखलाई प्रत्यक्ष निर्वाचित बनाउने जस्ता प्रस्ताव अघि सारेको भएपनि त्यो हुन नसकेको बताए । तर पछिल्लो समय शुसीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले चुनावलाई मात्र केन्द्रमा राखेर काम गरिरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘नेपालमा एउटा राजनीतिक संक्रमण र संकट यथावत नै छ । जेनजी विद्रोहपछि पनि ठूलो जनताका प्रस्तावहरु सम्बोधन हुन सकेको छैन ।
प्रतिक्रिया