वनसँग बाँधिएको जीवन : खुमबहादुरको दुई दशकको हरियो यात्रा

शनिबार, ०८ कार्तिक २०८२

कैलाली : जहाँ हरियालीले गाउँका आकाश ढाक्छ, रुखका फेदमा बालबालिकाको खेलकुद हुन्छ, अनि हावासँगै सास फेर्दा वनको सुगन्ध मिसिन्छ—त्यही भजनी नगरपालिका–२ को राधाकृष्ण सामुदायिक वन हो। यो ४४६ हेक्टरमा फैलिएको वन अहिले सुन्दरतालाई मात्रै होइन, संरक्षण र सामुदायिक जागरणको प्रतीकका रूपमा पनि चिनिन्छ। र, यो वनको मुटुमा छन्—७० वर्षीय खुमबहादुर खड्का।

दुई दशकभन्दा बढी समयदेखि वन संरक्षणलाई जीवनको उद्देश्य बनाएका छन् । उनका हातले रोपिएका बिरुवाहरू आज रुख बनेर गाउँको गर्व बनेका छन्।

ड्राइभरदेखि वनका रक्षकसम्मको यात्रा

खुमबहादुरले आफ्नो जीवनको सुरुवात ड्राइभरको रूपमा गरे। करिब २८ वर्ष गाडी चलाएर देशका विभिन्न ठाउँ पुग्ने मौका पाएका उनको जीवन २०५० सालतिर एउटा यात्राले पूर्णरूपमा बदलिदियो। “डडेलधुरातिर डिभिजन वन अधिकृतसँग यात्रा गर्दा रेडियोमा सामुदायिक वनको कुरा सुनेँ। त्यसबेला सामुदायिक वन के हो भनेर सोध्दा पाएको उत्तरले मनमा छाप पर्‍यो,” उनी स्मरण गर्छन् ।

विसं २०५८ मा उनको पहलमा राधाकृष्ण सामुदायिक वनसहित पशुपति, माहोन्याल, पूर्वखरौटी, प्रगतिशील र वनदेवी सामुदायिक वन दर्ता भए। राधाकृष्ण वनको अध्यक्ष बनेपछि असली यात्रा सुरु भयो—वनसँगको प्रेम, संरक्षण र संघर्षको यात्रा।

“पहिलोपटक गाउँ–गाउँ गएर वनको महत्त्व बुझाउँदा धेरैले हाँसे, शङ्का गरे,” उनले बताए, “तर म हार मानिनँ। धैर्यता र लगनले अन्ततः विश्वास जितेँ।”

त्यो विश्वास अहिले घना वन बनेर खडा छ—रुखका जरामा उनको पसिना मिसिएको छ।

संघर्षका अध्याय

वन बचाउनका लागि खुमबहादुरले अनेक चुनौती झेलेका छन्। “सङ्कटकालमा अतिक्रमण हटाएको भन्दै माओवादीले कुटे, मरेको भनी छोडिदिए,”उनी भन्छन्, “तर भागिनँ। किनकि यो वन मेरो जिम्मामा थियो।”

उनको त्यो अडानले समुदायलाई हिम्मत दियो। आज गाउँलेहरू उहाँलाई “वनका बुबा” भनेर चिन्छन्।

खुमबहादुरको बिहान र बेलुका दुवै वनमै बित्छ। हरेक वर्ष हजारौँ बिरुवा रोप्नु, नयाँ ढलान बनाउनु, पानीका साना बाँध निर्माण गर्नु र वन्यजन्तुका लागि सुरक्षित बासस्थान बनाउनु उहाँको दैनिकी बनेको छ।
“म पैसा कमाउन आएको होइन, मनको सन्तुष्टि पाउन आएको हुँ,” उनको वाक्य वनकै जस्तो गहिरो लाग्छ।

संरक्षणसँगै पर्यटकीय गन्तव्य

राधाकृष्ण वनमा अवस्थित लोहटिवा ताल आज एक आकर्षण बनेको छ। पानीका स्रोत र माटो संरक्षणका लागि निर्माण गरिएका बाँध र तालले वनलाई जीवन्त बनाएका छन्। अहिले त्यही तालमा बोटिङ, पिकनिक स्थल र घुमघामका कार्यक्रम सञ्चालन भइरहेका छन्। 

खुमबहादुर भन्छन्, “सुरुवातमा यो ठाउँ रुखविहीन थियो, आज हरियाली फिर्ता आएको छ।”

वन संरक्षणमा उनको योगदान अन्तर्राष्ट्रिय स्तरमै पुगेको छ। सन् २००३ मा उहाँलाई अब्राहम अवार्ड प्रदान गरिएको थियो। “त्यो पुरस्कार मेरो होइन, हाम्रो वनको जित हो,” उनले बताए ।

अन्तिम साससम्म वनसँगै

अब उमेरले ७० नाघिसकेको छ, तर खुमबहादुर अझै बिहान सबेरै वनतिर निस्कन्छन् । हातमा कोदाली, काँधमा बोरामा बिरुवा। “जिन्दगीले मलाई वनसँग बाँधिदियो,” उनले बताए, “जबसम्म सास छ, यो बन्धन छुट्दैन।”

उनका आँखामा गर्व झल्किन्छ, तर त्यो गर्वमा अहङ्कार छैन—त्यो त रुखझैँ निहुँरिएको आत्मगौरव हो।

राससको सहयोगमा 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार