नेपाल प्रहरीका सईले मेरापिकको चुचुरोमा फहराए नेपाल र नेपाल प्रहरीको झन्डा

शनिबार, ०८ कार्तिक २०८२

विराटनगर । नेपाल प्रहरीका नायव निरीक्षक (सई) नन्दलाल चौधरीले हिमालको कठिनाइलाई जित्दै मेरापिकको चु्चुरोमा नेपाल र नेपाल प्रहरीको झन्डा फहराएका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङ दरबन्दी भइ विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीमा कार्यरत चौधरीले सोलुखुम्बु जिल्लाको ६ हजार ४ सय ७६ मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरी असाधारण साहस र दृढ इच्छाशक्ति प्रदर्शन गरेका हुन् । चौधरीले प्रहरी प्रधान कार्यालयबाट असोज २० गतेदेखि लागू हुने गरी आरोहण स्वीकृति पाएका थिए । 

त्यसपछि नियमित प्रशिक्षण र तयारीसँगै उनले कार्तिक ५ गते बिहान २ बजेबाट आरोहण सुरु गरेका थिए । बिहान ६ बजेर ३० मिनेटमा उनी शिखर टेक्न सफल भएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए ।

कटवालका अनुसार सई चौधरी साढे चार घण्टामै आरोहण सम्पन्न गरी सुरक्षित रूपमा फर्किन सफल भएका छन् । सफल आरोहण गरेर फर्किएपछि शनिबार बिहान ९ः१५ बजेतिर उनी सम्पर्कमा आएका थिए । ‘चौधरी स्वस्थ र उत्साहित अवस्थामा छन् । हिमाल आरोहण गरेर सुरक्षित फर्कनु गर्वको कुरा हो,’ एसपी कटवालले भने ।

चौधरीले मेरापिकको चुचुरोमा पुगेर नेपाल र नेपाल प्रहरीको झन्डा फहराउँदै ऐतिहासिक क्षण बाँडेका छन् । उनले निकट भविष्यमा संखुवासभामा अवस्थित विश्वको पाँचौं अग्लो मकालु हिमाल (८,४६३ मिटर) आरोहण गर्ने योजना बनाएका छन् ।

‘आरोहणका क्रममा कुनै अप्ठेरो महसुस भएन । शेर्पा दाजुभाइहरू सँगसँगै चढ्दा आत्मबल अझ बढ्यो । उहाँहरूले दिएको सहयोग र हौसला अमूल्य रहयो,’ चौधरीले भने ।

हिमाल आरोहणलाई शारीरिक बलको मात्रै नभएर मानसिक दृढताको पनि गम्भीर परीक्षा मानिन्छ । हावाको न्यून अक्सिजन, कडा चिसो र जोखिमपूर्ण भौगोलिक स्थितिबीच सई चौधरीले देखाएको संयम र समर्पणले प्रहरीको साहसिक छविलाई नयाँ उचाइमा पुर्याएको एसपी कटवालको भनाइ छ ।

‘यो व्यक्तिगत उपलब्धिमात्र होइन, सम्पूर्ण नेपाली र नेपाल प्रहरीको गौरव हो । चौधरीले देखाएको दृढता र आत्मबलले असम्भव देखिने कार्य पनि लक्ष्यप्रति प्रतिबद्धता र मेहनतले सम्भव हुने सन्देश दिएको छ,’ कटवालले भने ।

मेरापिक हिमालको सफल आरोहणले नेपाल प्रहरीको शारीरिक क्षमता, मानसिक धैर्यता र चुनौती स्वीकार्ने क्षमतालाई विश्वसामु उजागर गरेको छ । प्रहरीको पहिचान प्रायः सुरक्षाको क्षेत्रमा सीमित मानिँदै आएको बेला चौधरीको यो साहसिक यात्राले नेपाल प्रहरीका सदस्यहरू बहुआयामिक क्षमता भएका छन् भन्ने स्पष्ट प्रमाण बोकेको छ । 

प्रहरी कर्मचारीहरुले सई चौधरीको सफल आरोहणलाई ‘साहस, समर्पण र राष्ट्रिय गौरवको प्रतीक’का रूपमा सम्मान गरेका छन् । अब उनको नजर मकालु हिमालतर्फ केन्द्रित छ । जहाँ उनी फेरि एकपटक नेपाल र नेपाल प्रहरीको झन्डा फहराउने तयारीमा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार