लेटाङकी १३ वर्षीया अंशुको बिभत्स हत्या र जङ्गलमा भेटिएको भयावह सत्य

शनिबार, ०८ कार्तिक २०८२

 लेटाङ : लेटाङको त्यो साँझ असामान्य थियो । पश्चिमतिर सूर्य हराउँदै थियो, तर मोरङको लेटाङ नगरपालिका–२ फडानीस्थित गौतम परिवारको घरमा अँध्यारो अझ गाडिँदो थियो । 

१८ दिनदेखि हराइरहेकी १३ वर्षीया अंशु गौतमको प्रतीक्षामा बितेका दिनहरू थकाइ, आँसु र अनिश्चितताले भरिएका थिए । हरेक बिहान आशा पलाउँथ्यो, बेलुकी निराशा थपिन्थ्यो ।

तर, त्यसरी दिनहरू बित्दै गर्दा निस्तब्धतामा एउटा खबर आयो, ‘बेलबारी–चिसाङ साझेदारी वनमा एक शव भेटियो ।’ हामी अंशुको घर पुग्यौँ । सानो घर, आँगनमा सुकाइएका लुगाहरू, छेउमा हरियो लहरोको ओझेलमा बसोबास । त्यहीँ अंशुको हाँसो, उनको कुदाइ, उनको स्वरले भरिएको आँगन सुनसान थियो ।

WhatsApp Image 2025-10-25 at 18.01.39

घरमा पुग्दा उनका बुवा बेलबारी बजारमा कागती बेच्न गएका रहेछन् । आमा बिना घरमा थिइनन् । केही बेरपछि उनी घरभित्र पसिन् । अनुहार निसास्सिएको, शरीर थकित, आँखामा निद्रा होइन, आँसुको डोब । बिस्तारै भनिन्, ‘छोरीलाई कसैले अपहरण गरेर लग्यो । प्रहरीलाई भन्यौँ, तर चासो दिएनन् ।’

उनका ७८ बर्से हजुरबुवा श्रीविलास गौतम लिस्नाको खुड्किलामा बसेका थिए । भने, ‘मेरी नातिनीलाई कसैले लग्यो । यतिका वर्ष लेटाङमा बस्दा यस्तो घटना सुनेको थिइन ।’ उनका शब्दहरूमा आक्रोश र असहायता मिसिएका थिए ।

बिनाले थपिन्, ‘लेटाङका हरेक गल्ली खोज्यौँ, जङ्गलसम्म गयौँ । तर, कतै पत्तो छैन । अब त लाग्छ, कसैले अपहरण गरेर लग्यो ।’ उनका शब्दहरूसँगै आँसुको धार बगिरह्यो । त्यो घरमा मौनता गाढा हुँदै गयो । सबैजना एउटै डरमा थिए । ‘अब के गर्ने ?’ भन्ने प्रश्न शब्दमा आउन सकेको थिएन । 

त्यही बेला एक छिमेकी दौडिँदै आए र भने,  ‘जङ्गलमा शव भेटिएको छ ।’ त्यो वाक्यसँगै घरको हावा बाक्लियो । बिनाको शरीर हल्लियो । आवाज रोकियो । केही क्षणपछि उनले आफ्ना जेठा छोरा मञ्जिललाई भनिन्, ‘छोरा, जाऊँ त, हेरेर आउनुपर्छ शव कसको हो ?’

हजुरबुवा खुड्किलाबाट उठे । साइकल समाते । बिनाले रोकिन आग्रह गरिन्, ‘बुवा, घाम ढल्किसक्यो, तपाईँ नजानु ।’ तर, उनी अडिएनन् । लेटाङको आकाशमा सुनसान फैलिँदै गयो । १८ दिनदेखि हराएकी छोरी अब शवको रूपमा भेटिन सक्छ भन्ने कल्पनाले हरेक सास भारी भयो ।

pradeskhabar.com - 2025-10-25T180415.877

हामी पनि त्यहाँबाट निस्कियौँ । पत्रकार सञ्जीव वाग्ले र शिव भट्टराईसँगै केही दूरीमा रहेका एमाले नेता घनश्याम खतिवडा र समाजसेवी टिकराम पौडेललाई भेट्यौँ । खतिवडा भने, ‘जङ्गलमा भेटिएको शव अत्यन्तै क्षतविक्षत अवस्थामा छ रे । समाजमा अपराध बढ्दै छ, प्रहरीको मनोबल कमजोर भएको छ । हामी सबैले शान्ति सुरक्षाको जिम्मा लिनुपर्छ ।’

त्यो बेला मैले इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीलाई फोन गरेँ । उनका शब्दहरू कठोर र गम्भीर थिए । ‘दाइ, शव अत्यन्तै क्षतविक्षत अवस्थामा छ । टाउको एकातिर, शरीर अर्कोतिर छ—चिन्नै मुस्किल छ ।’

त्यो वाक्यसँगै सबैथोक बताइसकेको थियो । केही बेरपछि अंशुकी आमा र हजुरबुवा पनि घटनास्थल पुगे । त्यहाँ भेटिएका लुगा, चप्पल—सबै अंशुले लगाउने कुरासँग मेल खान्थे । शरीर चिन्न नसकिने अवस्थामा थियो, तर पहिचानका सङ्केतहरू स्पष्ट थिए । बिनाले बिस्तारै भनिन्, ‘यो त हाम्रो अंशु नै हो ।’ र उनका शब्दसँगै जङ्गलभर रुवाबासी चल्यो ।

प्रहरीले भने औपचारिक पुष्टि गर्न डीएनए परीक्षण गर्ने निर्णय गर्‍यो । शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइयो । रिपोर्ट आउन एक हप्ता लाग्ने भनिएको छ । तर, अंशुको परिवारका लागि त्यो हप्ता एक दशकजस्तो लामो हुनेछ ।

लेटाङका गल्लीहरू अहिले सन्नाटामा छन् । जो बालिका हाँस्दै स्कुल जान्थिन्, गाउँभरि ‘अंशु, अंशु’ भनेर चिनिन्थिन्, अहिले उनको नाम उच्चारण गर्दा पनि गाउँ रोइरहेको छ ।

लक्ष्मी माध्यमिक विद्यालयका उनका शिक्षक र सहपाठीहरू अझै पनि अंशुको कुर्सीमा नजर टिकाउँछन् । कोही बोल्दैन, तर सबैको आँखा भिजेको हुन्छ ।

अंशु बेपत्ता भएसँगै सुरु भएको अनुसन्धानको गति परिवारका दृष्टिमा सुस्त रह्यो । अभिभावकले सुरु दिनदेखि नै अपहरणको आशङ्का प्रहरीलाई सुनाएका थिए । तर, प्रहरीले ‘ठोस प्रमाण छैन’ भन्दै मौनता पाल्यो ।

अहिले प्रश्नहरू तीव्र छन्—यदि अपहरण थियो भने प्रहरी किन मौन बस्यो ? किन अपराधी नडराउने भए ? एमाले नेता खतिवडाका शब्द अझै कानमा गुन्जिन्छन्, ‘प्रहरीको मनोबल गिरेको छ । जब अपराधी डराउँदैन, निर्दोषको जीवन सस्तो बन्छ ।’

यता, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले भने , ‘लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा शव भेटिएको हो । शव टाउको र शरीर छुट्टिएको तथा सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेको छ ।’ घाँस काट्न गएका स्थानीयले शव देखेपछि शुक्रवार दिउँसो करिब १ः३० बजेतिर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय लेटाङको टोली घटनास्थल पुगेको थियो ।

एसपी कटवाल आफैँ पनि अनुसन्धान टोलीसहित घटनास्थल पुगे । अंशु असोज २१ गते दिउँसो साढे ४ बजे घरबाट सम्पर्कविहीन भएकी थिइन् । हराएको दिनदेखि खोजी तीव्र पारियो । तर, उनको शव जङ्गलमा भेटियो । 

घटनास्थल वरिपरि भेटिएका कपडाहरू (ट्राउजर र हाफ पाइन्ट लगायत) फुकालिएको अवस्थामा थिए । त्यसैले बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।

कटवालले भने, ‘शव बीभत्स अवस्थामा छ । कुनै धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुन सक्छ । तर, प्रारम्भिक अनुसन्धानले यौनजन्य अपराध हो कि जङ्गली जनावरको आक्रमण भन्ने यकिन गरेको छैन । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले भने, ‘अंशु लक्ष्मी माध्यमिक विद्यालयकी कक्षा ५ की विद्यार्थी थिइन् । उनका अभिभावक आर्थिक रूपमा कमजोर छन् ।

यस्तो निर्दयी घटना हामीले कल्पना पनि गरेका थिएनौँ । दोषी जोसुकै होस्, कानुनको कठघरामा उभ्याउनुपर्छ ।’ गाउँमा अहिले शोक मात्र होइन, आक्रोश पनि छ । स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

वडाध्यक्ष तिम्सिना भन्छन्, ‘बालिका हराएको दिनदेखि नै सबै मिलेर खोजी गरियो । प्रहरीले पनि जानकारी पाएको थियो । तर, १८ दिनपछि मात्रै यस्तो बीभत्स अवस्थामा शव फेला पर्‍यो ।’ प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर प्रमाण सङ्कलन गरेको छ । वरपरका बस्तीका केही व्यक्तिहरूमाथि सोधपुछ सुरु भएको छ ।

घटनाको अनुसन्धान र वास्तविकता पत्ता लगाउनका लागि जिल्ला प्रहरी कार्यालय मोरङले इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा ५ सदस्यीय विशेष टोली गठन गरेर परिचालन गरेको छ । टोलीले शनिबारदेखि अनुसन्धान थालिसकेको छ ।

एसपी कटवालले भने, ‘पोस्टमार्टम रिपोर्ट र फरेन्सिक अध्ययनपछि मात्र घटना कसरी भयो भन्ने स्पष्ट हुन्छ ।

अहिले सबै कोणबाट अनुसन्धान अघि बढाइएको छ ।’ तर, परिवारका लागि यी सबै प्रक्रियाहरू शब्दभन्दा बढी पीडा हुन् । बिनाको अनुहारमा आँसु सुक्न सकेको छैन । हजुरबुवा श्रीविलास अझै पनि बिहान लिस्नाको खुड्किलामा बसेर बाटो हेर्छन्—साँच्चै फर्किन्छे कि भनेर ।

तर, अंशु अब फर्किने छैनन् । उनले ल्याउन नसक्ने मुस्कान अब लेटाङको हावामा मात्र बाँकी छ । त्यो साँझको सूर्यास्तसँगै लेटाङको एउटा बालपन, एउटा सपना र एउटा परिवारको विश्वासी प्रतीक्षा पनि अस्तायो ।

देशका नेताहरू मञ्चमा उभिएर शान्ति र सुरक्षाको कुरा गर्छन् । तर, अंशुको लास जङ्गलमा भेटिन्छ । न्यायका भाषणहरू हुन्छन्, तर बिनाको आँसु पुछ्न कोही आउँदैन । 

अंशु अब केवल एउटा नाम होइन । उनी एउटा प्रश्न हुन्, ‘यो देशमा छोरीहरू कति सुरक्षित छन् ?’ जवाफ अहिले पनि मौन छ । लेटाङ अझै सन्नाटामा छ । र अंशुको आँगनमा सुकाइएका लुगाहरू अझै त्यही छन्—जस्ताको तस्तै, त्यसैका त्यसै ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार