आईसीसी विश्वकप लिग–टु अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल ३९ ओभर १ बलमै १५६ रनमा अलआउट भयो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए भने आसिफ शेखले ३७, भीम सार्कीले २९ र आरिफ शेखले २० रनको योगदान दिए । कप्तान रोहित पौडेल २, गुल्सन झा ३, सोमपाल कामी ११, करण केसी २ रनमा आउट भए भने सन्दीप लामिछाने र कुशल भुर्तेल खाता नखोली पभेलियन फर्किए ।
अमेरिकाका बलर हर्मित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै ८.१ ओभरमा २६ रन खर्चेर ६ विकेट लिएका थिए ।
यसअघि अमेरिकाका ओपनर स्मित पटेलले ७५ रन र मिलिन्द कुमारले अविजित ७० रन बनाएर टोलीलाई बलियो स्कोरसम्म पुर्याएका थिए ।
नेपालका बलर सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे ।
प्रतिक्रिया