काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार (आज) पनि जारी रह्यो । मङ्गलबारदेखि सुरु भएको बैठक आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो ।
बैठकमा पार्टीभित्रका विभिन्न १० वटा प्रस्तावमाथि धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार, केन्द्रीय सदस्यहरू र आमन्त्रित सदस्यहरूले आ–आफ्नो धारणा प्रस्तुत गरिरहेका छन् ।
आजको बैठकमा धारणा राख्ने नेताहरूमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ, भरतकुमार शाह, आमन्त्रित सदस्य नारायणी रायमाझी, र प्रदेश सभापतिहरु उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) रहेका छन् ।
प्रवक्ता महतका अनुसार बैठकमा उठेका सबै विषयमा विस्तृत छलफलपछि मात्रै निष्कर्ष निकालिनेछ । उनले भने, “बैठक जारी नै छ, साथीहरूले १० वटा प्रस्तावमाथि धारणा राखिरहेका छन् । भोलि फेरि दिउँसो १ बजे पुनः बैठक बस्ने तय गरिएको छ ।”
उनले वर्तमान सरकार निर्वाचन गराउने भन्दै भए पनि त्यसतर्फ गम्भीर रूपमा नलागेको आरोप समेत लगाए । “सरकार निर्वाचन गराउने भनिरहेको छ, तर काम हेर्दा गम्भीरता देखिँदैन,” महतले भने, “अहिले फेरि सरकारले राजनीतिक नियुक्तिमा गएका राजदूतहरू फिर्ता बोलाइरहेको छ, जसले अन्तर्राष्ट्रिय सम्बन्धमा नकारात्मक असर पार्न सक्छ । सरकार अब सम्पूर्ण शक्ति र ऊर्जा निर्वाचन तयारीमा केन्द्रित गर्नुपर्छ ।”
प्रतिक्रिया