इटहरी : निर्माणको जिम्मा पाएको कम्पनीले समयमै काम नसक्दा १४ वर्ष अघि देखि हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई नदिको पुल अलपत्र अवस्थामा रहेको छ । वि.सं.२०६८ जेठ अन्तिममा निर्माण कार्यका लागि ठेक्का लागेको कन्काई नदीको पक्की पुलको काम १४ वर्ष वितिसक्दा ५६ प्रतिसत मात्र पुरा गरेर निर्माण कम्पनीले विचमै छोडेपछि अलपत्र परेको हो ।
हुलाकी राजमार्ग अन्तर्गत कन्काई नदीमा चार वर्षमा पुरा गर्ने गरी पक्की पुल निर्माणको ठेक्का लगाइएको भएपनि सम्झौता अनुसार निर्माण कम्पनीले काम पुरा नगरेपछि अहिले ठेक्का सम्झौता अन्त्य गरिएको छ । समयमै निर्माण कार्य सम्पन्न नगरेको तथा स्पष्टिकरण सोध्दा समेत चित्त वुझ्दो जवाफ र निर्माण सम्पन्न गर्ने आधार देखाउन नसकेपछि ठेक्का सम्झौता अन्त्य गरिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले जानकारी दिए ।
तराई मधेशका जिल्लाहरुलाई जोड्ने गरी पुर्वमा झापा देखि पश्चिममा कञ्चनपुर सम्म १ हजार ६सय ६० किलो मिटर बढी कालोपत्रे सडक निर्माण गर्ने उद्धेश्य सहित निर्माण भई रहेको हुलाकी राजमार्ग अन्तर्गत झापा खण्डको सडक निर्माण कार्य सम्पन्न भई सक्दा पनि कन्काई नदीको पुल निर्माण कार्य सम्पन्न नहुदाँ यस क्षेत्रमा आवतजावतमा समस्या हुदै आएको छ ।
सात सय २३ मिटर लामो कन्काई पुल निर्माण कार्यको जिम्मेवारी पाएको पप्पु महादेव जेभी काठमाडौंले पटकपटक समय थप्दा समेत निर्माण कार्य सम्पन्न नगरि छोडेपछि हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले निर्माण ठेक्का सम्झौता तोडेपछि सो क्षेत्र भएर यात्रा गर्नेहरु अव कहिले पुल निर्माणका लागि काम थालिन्छ भनेर थप अन्यौलमा परेका छन ।
सम्झौता अन्त्य गरीएपछि नियम अनुसार नयाँ ठेक्का सम्झौता गरेर पुल निर्माण कार्य पुनः थालिने जनाइएको छ । झापा जिल्लाको गौरीगंज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कन्काई नदीमा पुल नहुँदा हिउँदमा बाँसको पुल र वर्षायाममा डुंगाबाट आवतजावत गरिने गरिएको छ । वाँसको पुल तथा डुंगाका सशुल्क आवतजावत गर्न पाइने व्यवस्था रहेको छ । बाँसको पुल र डुंगा सञ्चालनका लागि गाउँपालिकाले ठेक्का लगाउदै आएको छ ।
कन्काई नदीमा पुल नभएका कारण हिउँमा सवारी साधनहरु खोलाबाटै सञ्चालन गरिने र मोटरसाईकल ,साइकल र मानिसहरु भने बाँसको पुलबाट वारपार गर्ने गरेका छन । तर मध्य वर्षायाममा भने डुंगा समेत सञ्चालन हुँन नसक्ने अवस्थामा ४० किलो मिटर उत्तर आएर पुर्वपश्चिम राजमार्ग घुमेर यात्रा गर्नु पर्ने वाध्यता यस क्षेत्रका मानिसहरुलाई रहेको स्थानीय दिपक पौडेल गुनासो गर्दछन ।
कन्काई नदिको पुल नबन्दा नेपाल सरकारको गौरवको योजना अन्तर्गतको हुलाकी राजमार्गको निर्माण कार्य तोकिएकै समयमा पुरा हुनसकेन ।
प्रतिक्रिया