कामधेनु सहकारीमा आत्महत्या प्रकरणपछि आरोप–प्रत्यारोप : के भन्छन् अध्यक्ष ढकाल ?

शनिबार, २७ मंसिर २०८२

इटहरी : एक महिनाअघि इटहरी वडा नं. १ मा सञ्चालित कामधेनु दुग्ध विकास सहकारी संस्थाका बजार प्रतिनिधि प्रेमकुमार मिश्रको आत्महत्या प्रकरणपछि संस्थामाथि लगाइएका आरोपहरू गलत भएको सहकारीले दाबी गरेको छ।

घटनापछि पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी र सेयर सदस्य मनोज दाहाललाई निष्कासन तथा कर्मचारी तेजप्रसाद सुवेदीलाई निलम्बन गरिएको थियो।

कात्तिक १७ गते झापा घर भएका मिश्रले आत्महत्या गरेपछि तीनै जनामाथि गरिएको कारबाहीबारे बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूले संस्थाका अध्यक्ष यादवप्रसाद ढकालले प्रक्रिया नपुर्‍याई बाहिरी व्यक्तिहरूको भरमा निर्णय गरेको र संस्थाभित्रका गलत कार्य ढाकछोप गर्न यस्तो कदम चालिएको आरोप लगाएका थिए।

यसको प्रतिवादस्वरूप शुक्रवार कामधेनु दुग्ध विकास सहकारी संस्थाले पत्रकार सम्मेलन गरी कर्मचारी पक्राउ परेका बेला संस्थामाथि लगाइएका आरोपहरू मिथ्या भएको जनाएको छ।

अध्यक्ष यादवप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा घटनाबारे नेपाल प्रहरीको अनुसन्धान जारी रहेको र सत्य–तथ्य पत्ता लगाउन संस्था परिवारले आवश्यक सहयोग गरिरहेको उल्लेख छ।

‘कामधेनु दुग्ध विकास सहकारी संस्थासम्बन्धी कर्मचारी तथा सेयर सदस्यले लगाएका सम्पूर्ण आरोप–प्रत्यारोप मिथ्या रहेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

उनले नियमानुसार नै कारबाही गरिएको र त्यसका लागि पटक–पटक पत्राचार तथा स्पष्टीकरण सोधिएको प्रमाण आफूसँग रहेको बताए।

सेयर सदस्यलाई सञ्चालक समितिले हटाउन सक्ने प्रावधानअनुसार कारबाही गरिएको स्पष्ट पार्दै साधारणसभाबाट बहुमत सदस्यको मत पाए पुनः सदस्य कायम हुन पाउने व्यवस्था रहेको बताए। 

निलम्बनमा परेका कर्मचारीले संस्थालाई ढाँटेको र संस्थाविरुद्ध लागेको प्रमाण रहेको दाबी गर्दै ढकालले जोगबनीमा मार्केटिङ गरिरहेको भनिए पनि गोठगाउँ र इटहरीका घर तथा होटेलमा बैठक बसेको देखिएको बताए। ‘त्यही समयमा इटहरी र गोठगाउँमा जिपिएस ट्र्याक भएको छ, होटेलका सिसिटिभी फुटेज प्राप्त भएका छन्,’ उनले भने।

प्रेमकुमार मिश्रले कात्तिक १७ गते आफ्नै घरमा आत्महत्या गरेका थिए। बिर्तामोडमा बसोबास गर्दै आए पनि उनको स्थायी घर कमल गाउँपालिका रहेको बताइएको छ, जहाँ उनले आत्महत्या गरेका हुन्। मिश्रले संस्थाको सात लाख रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको देखिएको थियो। 

 

 

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार