कामधेनु सहकारीको निर्णयमा रजिस्ट्रारको ब्रेक: निष्कासित अधिकारी–दाहालको सदस्यता कायम गर्न निर्देशन

बुधबार, २३ पुस २०८२

इटहरी : प्रदेश सहकारी तथा प्रशिक्षण कार्यालयले इटहरी उपमहानगरपालिका–१ स्थित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडलाई सेयर सदस्यताबाट हटाइएका कृष्णप्रसाद अधिकारी र मनोज दाहालको सदस्यता कायम गर्न निर्देशन दिएको छ।

सहकारीका सदस्य अधिकारी र दाहाललाई निष्कासन गर्दा प्रदेश सहकारी नियमावली २०७६ को नियम १२ (१) का खण्ड क, ख र ग बमोजिम अवलम्बन गर्नुपर्ने कानुनी प्रक्रिया पूरा भएको प्रमाण तोकिएको समयसीमाभित्र पेस नगरिएकाले सदस्यता कायम गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ।

प्रदेश सहकारी तथा प्रशिक्षण कार्यालयका भूपेन्द्र खनालका अनुसार कामधेनु सहकारीले समयसीमाभित्र आवश्यक कागजात र प्रमाण पेस गर्न नसकेपछि दुवै सदस्यको सदस्यता यथावत् राख्न निर्देशन दिइएको हो। खनालले गत बिहीबार उक्त निर्देशनसहितको पत्र जारी गरेका थिए।

सहकारी ऐन तथा नियमावलीअनुसार आवश्यक प्रक्रिया पूरा नगरी सदस्यता खारेज गरिएको ठहर भएमा संस्थामाथि थप कानुनी कारबाही हुन सक्ने पनि कार्यालयले चेतावनी दिएको छ।

विशेषगरी कामधेनु सहकारीका अध्यक्ष यादप ढकालले सङ्घीय सहकारी कानुनी व्यवस्थाको बेवास्ता गर्दै ‘मनोपोली’ शैलीमा अधिकारी र दाहाललाई बिनाकारण सेयर सदस्यताबाट हटाएको आरोप छ। सहकारी ऐन, विनियम तथा सङ्घीय कानुनी मापदण्डअनुसार आवश्यक प्रक्रिया नपुगेकाले रजिस्ट्रार कार्यालयले उनीहरूको सदस्यता कायम राख्न निर्देशन दिएको हो।

WhatsApp Image 2026-01-06 at 18.25.18

कामधेनु सहकारीको मङ्सिर १२ गते बसेको सञ्चालक समितिको बैठकले ‘भ्रामक तथा तथ्यहीन समाचार सम्प्रेषण गरेको’ आरोप लगाउँदै अधिकारी र दाहाललाई सेयर सदस्यताबाट हटाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध मङ्सिर २४ गते प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा निवेदन दर्ता गरिएको थियो।

निवेदकद्वयले अध्यक्ष ढकालले व्यक्तिगत रिसइबी राखी संस्था सञ्चालन गरेको, गैरकानुनी तथा गैरजिम्मेवार तरिकाले पूर्वाग्रहका आधारमा आफूहरूलाई साधारण सदस्यताबाट समेत हटाइएको भन्दै आपत्ति जनाएका थिए।

सदस्यताबाट हटाइएका अधिकारी कामधेनु सहकारीका संस्थापक सदस्य तथा तीन कार्यकाल अध्यक्ष भइसकेका व्यक्ति हुन्। तर अध्यक्ष ढकालले व्यक्तिगत रिसइबीका कारण बिनाकारण सदस्यता खारेज गरेको भन्दै अधिकारीले रजिस्ट्रार कार्यालयमा निवेदन दिएका थिए।

कर्मचारीको ‘सुसाइड नोट’ सामसुम पार्ने प्रयास छताछुल्ल

कामधेनु सहकारीका एक कर्मचारीले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’ सार्वजनिक हुन नदिन गरिएको योजनाबद्ध प्रयासको पृष्ठभूमि बाहिरिएपछि अध्यक्ष ढकाल आत्तिएको बताइन्छ।

संस्थाका कर्मचारी प्रेम मिश्रको मृत्यु घटनालाई सामसुम पार्ने प्रयासकै क्रममा सहकारीभित्रका विभिन्न अनियमितता सतहमा आएको स्रोतहरूको दाबी छ। मिश्रले लेखेको सुसाइड नोटमा सहकारी सञ्चालनमा भएका अनियमितता, दबाब, प्रभाव, मानसिक यातना तथा मनोवैज्ञानिक उत्पीडनको उल्लेख गरिएको थियो।

उक्त नोट सार्वजनिक भए सहकारीको छवि प्रभावित हुने डरले अध्यक्ष ढकालसहितका पदाधिकारीले आन्तरिक सल्लाह गरी अधिकारी र दाहाललाई सेयर सदस्यताबाट हटाइएको बताइएको छ।

गत १७ कात्तिकमा कर्मचारी मिश्रले संस्थाकै दुई जना कर्मचारीको नाम उल्लेख गर्दै आत्महत्या गरेका थिए। तर घटनालाई सामसुम पार्ने प्रयास भएको पीडित परिवारको आरोप छ। अध्यक्ष ढकालले मिश्रको कामप्रति असन्तुष्टि जनाउँदै पटक–पटक स्पष्टीकरण सोधेको र निरन्तर मानसिक दबाब दिइएकाले आत्महत्या गर्न बाध्य भएको परिवारको भनाइ छ।

मिश्रले बजार प्रमुख रञ्जित झा र शेरबहादुर खड्काको नाम उल्लेख गर्दै ‘सुसाइड नोट’ लेखेका थिए। मिश्रको निधनपछि अध्यक्ष ढकालसहितका कर्मचारीहरू समवेदना दिन झापास्थित उनको घर गएका थिए। त्यही क्रममा स्थानीयवासीले उनीहरूमाथि दुर्व्यवहार गरेका थिए।

फर्किने क्रममा मोरङको पथरी जङ्गल क्षेत्रमा आइपुग्दा अध्यक्ष ढकालले सँगै गएका सबैको मोबाइल फोन नियन्त्रणमा लिएर सोधपुछ गर्दै मानसिक यातना दिएको घटनासमेत सार्वजनिक भएको छ।

एक हजार ६ सयभन्दा बढी सेयर सदस्य रहेको कामधेनु सहकारीमा दैनिक ११ हजारभन्दा बढी कृषकले उत्पादन गरेको दूध तथा दुग्धजन्य पदार्थको खरिद–बिक्री हुँदै आएको छ। तर सीमित व्यक्तिको स्वार्थका कारण संस्था धराशायी हुने जोखिम बढेको भन्दै सदस्यहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया

खेमराज सापकोटा
लेखकको बारेमा
खेमराज सापकोटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार