कोशीमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, को को बन्दैछन् मन्त्री ? (नामावलीसहित)

मंगलबार, २२ पुस २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले हालका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउने तयारी गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मन्त्रालय बाँडफाँटसमेत टुंगो लागिसकेको छ।

आज बेलुकासम्म मन्त्रिमण्डल पुनर्गठन हुने तयारी छ। मुख्यमन्त्रीबाहेक सबै मन्त्रीलाई फिर्ता बोलाइने तयारी गरिएको स्रोतले जनाएको छ।

एमालेबाट सरकारमा सहभागी हुने  नयाँ मन्त्रीहरूको सम्भावित नामहरुमा विदुर लिङथेप आर्थिक मामिला तथा योजना मन्त्रालय, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। त्यस्तै, रामप्रसाद महतो सामाजिक विकास मन्त्री बन्ने छन् भने उमाकान्त गौतम राज्यमन्त्री नियुक्त हुनेछन्।

यस्तै, कांग्रेसबाट सम्भावित नामहरुमा प्रदीप सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री र मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री बन्ने भएका छन्। शोभा चेम्जोङ राज्यमन्त्री तथा इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री बन्ने तय भएको छ।

हाल एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री राम राना, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई तथा राज्यमन्त्री सिर्जना राई रहेका छन्।

त्यसैगरी, कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन्द्रसिं हाङ्गाम सरकारमा छन्।

बहालवाला सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्ने विषयमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा र मुख्यमन्त्री कार्कीबीच सहमति भइसकेको बताईएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार