संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा भइरहेको सरकारविरोधी प्रदर्शनलाई समर्थन गरेको पृष्ठभूमिमा इरानका सैन्य प्रमुख जनरल अमिर हातमीले कडा चेतावनी दिएका छन् ।
फार्स समाचार एजेन्सीका अनुसार हातमीले इरानी राष्ट्रविरुद्ध भइरहेको शत्रुतापूर्ण बयानबाजी र दबाबलाई गम्भीर खतरा ठानेर प्रतिक्रिया नदिइरहन नसकिने स्पष्ट पारेका छन् । उनले भने, “इरानले यस्ता धम्की र शत्रुतापूर्ण अभिव्यक्तिलाई प्रतिक्रिया नदिई निरन्तर सहन सक्दैन ।”
जनरल हातमीले चेतावनी दिँदै भने कि यदि ‘शत्रुहरूले कुनै गल्ती गरे’ भने इरानको प्रतिक्रिया गत जुनमा इजरायलसँग भएको १२ दिने युद्धभन्दा अझ कडा र शक्तिशाली हुनेछ ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीहरू मारिएमा संयुक्त राज्य अमेरिकाले हस्तक्षेप गर्ने धम्की दिएका थिए भने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रदर्शनकारीहरूको समर्थन व्यक्त गरेका थिए ।
गत डिसेम्बर २८ मा तेहरानका व्यापारीहरूले बढ्दो महँगी र इरानी मुद्रा रियालको अवमूल्यनविरुद्ध प्रदर्शन गरेका थिए । त्यसपछि देशका अन्य शहरहरूमा पनि विरोध प्रदर्शन फैलिएको थियो ।
इरानी विदेश मन्त्रालयले अमेरिकी र इजरायली नेताहरूको गतिविधिलाई हिंसा भड्काउने र इरानको राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास भएको आरोप लगाएको छ ।
प्रतिक्रिया