जेन्जी अब एक हुने घोषणा : पाँचथरको फिदिमबाट उठ्यो ‘जेन्जी युनाइटेड’

आइतबार, २३ कार्तिक २०८२

फिदिम : विभिन्न दल र समूहमा विभाजित भएको जेनेरेसन जेड (जेन्जी) लाई एकताबद्ध गर्न ‘जेन्जी युनाइटेड’ले पाँचथरबाट देशव्यापी अभियान सुरु गरेको छ। अभियानको प्रारम्भ शनिवार फिदिममा आयोजित ¥याली, आमसभा र नाटक प्रदर्शनमार्फत गरिएको थियो।

¥यालीमा जिल्लाका आठवटै स्थानीय तहका एक हजारभन्दा बढी युवा, युवती र किशोर–किशोरी सहभागी थिए। सहभागीहरूले “देशभरका जेन्जी एक होऔं”, “शहिदको सपना पूरा गरौं” र “परिवर्तन सम्भव छ” जस्ता नारा राख्दै नेपालका राष्ट्रिय झण्डा बोकेर फिदिम बजारको परिक्रमा गरे। ¥याली सिरानस्थित शिवालय मन्दिरबाट सुरु भई बजारका मुख्य चोकहरू हुँदै फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा पुगेर सभामा परिणत भयो।

सभामा २०३६ देखि २०८२ सम्म भएका आन्दोलन, राज्यको दमन र भ्रष्टाचारको अवस्था चित्रण गर्दै “परिवर्तन” शीर्षकको नाटक प्रदर्शन गरिएको थियो। आयोजक जेन्जी युनाइटेडका संयोजक राकेश राईका अनुसार, अभियानले जेन्जीलाई दल वा समूहको नाममा विभाजित नहुँदै, एकजुट भएर देश परिवर्तनमा योगदान दिन प्रेरित गर्ने उद्देश्य राखेको छ।

अभियानका सह–संयोजक मन्जना थुलुङले भनिन्, “भदौ २३ र २४ को आन्दोलनपछि जेन्जीलाई विभाजित गर्ने षड्यन्त्र भइरहेको छ। त्यसैले अब दल वा समूहभन्दा माथि उठेर एकीकृत हुनुपर्ने आवश्यकता देखियो। यो अभियान यही सन्देश लिएर सुरु गरिएको हो।”

जेन्जी युनाइटेडले अभियानलाई ७७ जिल्लामा विस्तार गर्ने र निर्वाचनमा सक्रिय, सक्षम युवा पुस्तालाई चयन गरी आम नेपाली नागरिकसँग देश परिवर्तनको आग्रह गर्ने योजना बनाएको छ।

1245

 

प्रतिक्रिया

लक्ष्मी गौतम
लेखकको बारेमा
लक्ष्मी गौतम
जिल्ला संवाददाता

लेखक ३ दशक अघिदेखि पाँचथर जिल्लामा रहेर सक्रिय रूपमा कलम चलाउँदै आउनुभएको छ ।

सम्बन्धित समाचार