धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा स्थित कालिन्द्र सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबेका अनुसार मिति २५ पुस, दिउँसो करिब १२:२० बजे, बराहक्षेत्र नगरपालिका–३ का ७२ वर्षीया मैया बि.क. घाँस काट्न वनमा जाने क्रममा जंगली हात्तीले आक्रमण गर्दा उनको दाहिने खुट्टा भाच्चिएको छ। सोही समयमा सोही स्थानकी ३४ वर्षीया पुजन बि.क. घर फर्किने क्रममा सोही हात्तीको आक्रमणमा पर्दा निधार, अनुहार र दुबै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दिवश कुँवरको कमाण्डमा खटिएको टोलीले उद्दार गरी प्रहरीको गाडीमार्फत बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा ल्याई उपचार भइरहेको छ।
प्रहरीका अनुसार हात्ती अझै बराहक्षेत्र–३, कालिन्द्र सामुदायिक वनमा रहेको छ। जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनले हात्तीबाट सुरक्षा अपनाउन सचेत गराउने तथा घटना स्थलमा सतर्कता कायम गर्न आग्रह गरेको छ।गए राती करिब ११:४५ बजे धरान–१९ हरियालीमा समेत जङ्गली हात्ती देखिएको थियो ।
प्रतिक्रिया