विराटनगर : नेकपा एमाले धनकुटाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पठाएको एकल उम्मेदवार सिफारिस प्रदेश कमिटीले उल्ट्याएको छ।
जिल्ला कमिटीमार्फत पूर्वसांसद तथा मन्त्री राजेन्द्र राईको एकल नाम सिफारिस भए पनि प्रदेश सचिवालय बैठकले थप दुई आकाङ्क्षीको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो।
एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार धनकुटाबाट राजेन्द्र राईसँगै प्रदेश कमिटी उपाध्यक्ष टीकाराम चेम्जोङ र नेतृ शकुन्तला बस्नेतको नाम पनि केन्द्रमा सिफारिस गरिएको छ।
एकल नाम आए पनि अन्य योग्य आकाङ्क्षीलाई समेट्न प्रदेश कमिटीले नाम थप गरेको उनले स्पष्ट पारे।
अन्य जिल्लाका हकमा भने पार्टीको निर्धारित मापदण्डअनुसार नै सिफारिस अनुमोदन गरिएको खतिवडाले बताए।
उनका अनुसार झापा–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली, भोजपुरबाट केन्द्रीय सचिव शेरधन राई, इलाम–२ बाट सुहाङ नेम्वाङ र सुनसरी–४ बाट जगदीश कुसियैतको एकल नाम सिफारिसलाई प्रदेश कमिटीले अनुमोदन गर्दै केन्द्रमा पठाएको छ।
प्रदेश सचिवालय बैठकले प्रत्यक्षतर्फ सिफारिस भएका उम्मेदवारहरूको नाम आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको पनि उनले जानकारी दिए। बैठकपछि आकाङ्क्षीको सूची लिएर प्रदेश अध्यक्ष घनश्याम खतिवडा काठमाडौँ प्रस्थान गरेका छन्।
प्रतिक्रिया