इनरुवा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टीले अहिले आधारभूत तह र युवा पुस्ताका भावना आत्मसात् गर्न केन्द्रित भएर नीतिहरु तयार गर्दै गएको बताएका छन्। जेनजी घटनापछि युवापुस्तासँग पार्टीको भावनात्मक सम्बन्ध बलियो बनाउनुपर्ने निष्कर्षका साथ एमालेले आफ्नो नीति निर्माण गरिरहेको उनले स्पष्ट पारे।
आइतबार इनरुवामा एमाले सुनसरीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठकलाई सम्बोधन गर्दै राईले भदौ २४ गतेको घटनालाई देशविरुद्धको योजनाबद्ध आक्रमणका रूपमा व्याख्या गरे। उनले भने, “जेनजी पुस्ताको शक्तिलाई दुरुपयोग गरी देश माथि आक्रमण भयो। विद्यालयका सानासाना विद्यार्थीहरूलाई पोशाकमै कसले बोलायो ? ती अबोध बालबालिकामाथि कसले गोली चलायो ? यी सबैको निष्पक्ष छानबिन हुनुपर्छ।”
उनका अनुसार भदौ २३ र २४ गते भएका गतिविधि देश, संविधान र व्यवस्थालाई समाप्त पार्ने प्रयास थिए र त्यसबेला प्रधानमन्त्रीको हत्या गर्नेसम्मका योजनाहरु बनेका थिए। राईले देशी–विदेशी षड्यन्त्रकारी अझै सक्रिय रहेको बताउँदै अब संविधान, गणतन्त्र र व्यवस्थाको रक्षा गर्न एमाले एकजुट भएर अघि बढ्ने बताए।
संसद् विघटनपछि मुलुकलाई संवैधानिक बाटोमा ल्याउने एक मात्र उपाय संसद् पुनर्स्थापना रहेको उनको भनाइ थियो। उनले सबै राजनीतिक दललाई समेत संसद् पुनर्स्थापनाको एजेण्डामा आउन आग्रह गरे।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीशप्रसाद कुसियतले पार्टी र नेतृत्वमाथि भएका प्रहारहरूको भण्डाफोर गर्दै संविधान, लोकतन्त्र र राष्ट्रिय हितको रक्षा अभियान सञ्चालन भइरहेको बताए। त्यस्तै, कोशी प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङले जेनजी घटनापछि एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथिका भ्रम र षड्यन्त्रहरूको पर्दाफास भइसकेको बताए। उनले एमाले र ओलीमाथिका आन्तरिक तथा बाह्य प्रहारहरू नेपाली जनताले राम्ररी बुझिसकेको र अब देशको समृद्धिको नेतृत्व एमालेले नै गर्ने दाबी गरे।
बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको थियो।
प्रतिक्रिया