उदयपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते (नामावलीसहित)

सोमबार, २४ कार्तिक २०८२

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–४ सगरमाथा सडक खण्ड अन्तर्गत बगाहा क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

आज बिहान करिब ८ः२० बजे, गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना १ ज ८३९१ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

दुर्घटनामा परेका गाडीका चालक सप्तरी हनुमान चोक घर भई हाल त्रियुगा नगरपालिका–३ मोतिगडामा बसोबास गर्दै आएका २६ वर्षीय इन्द्र शाहको दाहिने हातमा चोट लागेर  हाल जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ।

घाइते अन्य यात्रुहरूको विवरण यसप्रकार छः

१. पूर्ण बा राई (७४ वर्ष), त्रियुगा–११ संगमटोल — दुवै हात, अनुहार, टाउको र कम्मरमा चोट, अवस्था गम्भीर।
२. रामकुमारी राई (६० वर्ष), त्रियुगा–११ — टाउको, छाती, दुवै हात र खुट्टामा चोट, बोल्न सक्ने अवस्थामा।
३. ज्ञानेन्द्र बिक (४४ वर्ष), त्रियुगा–१२ — अनुहार र दुबै हातमा सामान्य चोट।
४. थिर्थ घिमिरे (४५ वर्ष), ओखलढुंगा खिजिदेम्बा–२ पोखरी — दुबै हात र खुट्टामा सामान्य चोट।
५. स्वयम्भू राज पोखरेल (४४ वर्ष), काठमाडौं गोकर्णेश्वर–२ — टाउको, अनुहार र हातमा चोट।
६. प्रजिता बिक (१७ वर्ष), त्रियुगा–१२ सोनापुर — बायाँ खुट्टा र अनुहारमा चोट, अवस्था सामान्य।
७. केवल ठकुरी (२२ वर्ष), त्रियुगा–७ — टाउको, हात र घाटीमा चोट, चलाउन गाह्रो।
८. कमल बा खड्का (७७ वर्ष), त्रियुगा–२ — टाउको र ढाडमा चोट, थप उपचारका लागि बिराटनगर रेफर।
९. नरबहादुर खत्री (५७ वर्ष), त्रियुगा–२ — बायाँ खुट्टा र ढाडमा चोट, थप उपचारका लागि बिराटनगर रेफर।
१०. चन्द्रमाया चौधरी (२७ वर्ष), सुरुङ्गा नगरपालिका–१, सप्तरी — दुबै हात र खुट्टा दुखेको, बाहिरी चोट छैन।
११. एरियाना चौधरी (४ वर्ष), चन्द्रमायाकी छोरी — खुट्टा दुखेको, बाहिरी चोट छैन।

स्रोतका अनुसार, सबै घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको र गम्भीर घाइतेहरूलाई बिराटनगरस्थित विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार