जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका खरेल कनकाई पुलमा बम राखेपछी पक्राउ

शुक्रबार, २५ पुस २०८२

झापा । झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई पुल नजिक विस्फोटक पदार्थ राखी सर्वसाधारणमा त्रास फैलाउने एक जना व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन् ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल  उर्फ सञ्जय  रहेका छन् ।

गत पुस १९ गते बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको थियो । उक्त बमलाई त्यसै दिन नेपाली सेनाको अरिदमन गणको टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको थियो । घटनाको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले खरेललाई बिहिबार साँझ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटनास्थलबाट विस्फोटक सामग्रीसँगै ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चा समेत बरामद गरिएको थियो । खरेल यसअघि पनि पटक–पटक बमसम्बन्धी घटनामा पक्राउ पर्दै छुट्दै आएको व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

२०८१ साल पुस महिनामै सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर भेटिएपछि नेपाली सेनाको कालीशक्ति गणको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको थियो । सो घटनामा समेत खरेल पक्राउ परेका थिए ।

त्यसैगरी, २०७८ साल चैतमा इटहरी–२ नवजागृति टोलस्थित एक कोठामा भएको बम विस्फोटमा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए । उक्त घटनामा पनि खरेलको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार दुई वर्ष पाँच महिना कैद सजाय भुक्तान गरी छुटेपछि खरेल पुनः विस्फोटक आतङ्कमा सक्रिय भएको पाइएपछि २०८१ साल चैतमा पनि पक्राउ परेका थिए । उनी ‘जेनजी आन्दोलन’ का क्रममा सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा फरार रहेको तथ्य पनि खुलेको छ ।

पछिल्ला केही वर्षयता बिर्तामोड र दमक क्षेत्रमा समेत बम राखेर त्रास फैलाउँदै आएको आरोप उनीमाथि लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार