काठमाडौँ : वर्तमान सरकारमा तीन महत्वपूर्ण विकास मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङले आज सोमबार नयाँ राजनीतिक पार्टीको औपचारिक घोषणा गर्दै छन्। कुलमान निकट एक स्रोतका अनुसार, नयाँ पार्टीको नाम ‘जनसेवा पार्टी’ राखिनेछ।
स्रोतका अनुसार, पार्टी दर्ता गर्नका लागि यसअघि दर्ता भएको ‘उज्यालो नेपाल पार्टी’ को नाम परिवर्तन गरी निर्वाचन आयोगमा निवेदन दिइनेछ। पार्टी अध्यक्षको भूमिकामा कुलमान रहनेछन् कि पूर्व ऊर्जासचिव डा. अनुपकुमार उपाध्याय रहनेछन् भन्ने कुरा सोमबार बिहान टुङ्गो लाग्नेछ।
नयाँ पार्टीले ‘एक व्यक्ति एक पद’ नीति कडाइका साथ लागू गर्ने योजना बनाएको छ। यसअनुसार, सरकारमा जाने नेताहरू पार्टी पदाधिकारीमा रहने छैनन्। यही नीति अनुसार कुलमानलाई प्रधानमन्त्री बनाउने सम्भावना राखेर अध्यक्षको भूमिकामा डा. उपाध्यायको सम्भावना पनि चर्चा गरिएको छ।
स्रोतका अनुसार, कुलमान निकट समूहको बैठक हिजो बौद्ध, काठमाडौँमा सम्पन्न भएको थियो। बैठकले पार्टीको रूपरेखा र कार्यनीति तयार पारेको छ।
नयाँ पार्टीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को समर्थन रहने उल्लेख भए पनि उनी पदमा रहने छैनन्; उनका प्रतिनिधिहरू मात्र पार्टीमा संलग्न हुनेछन्। नयाँ पार्टीले विकास, पारदर्शिता र सेवा केन्द्रित नीतिलाई प्राथमिकता दिने योजना बनाएको स्रोतले बताएको छ।
प्रतिक्रिया