काठमाडौँ : वर्तमान सरकारका प्रभावशाली मन्त्री तथा ऊर्जा क्षेत्रका चर्चित नाम कुलमान घिसिङ अब राजनीतिमा औपचारिक प्रवेश गर्न लागेका छन् । स्रोतका अनुसार उनी सोमबार नयाँ राजनीतिक पार्टीको घोषणा गर्दै छन् ।
कुलमान निकट स्रोतका अनुसार सोमबार बिहानै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिनेछ । त्यसका लागि यसअघि नै आयोगमा दर्ता भएको ‘उज्यालो नेपाल पार्टी’ को नाम परिवर्तन गर्ने वा नयाँ नामबाट ‘जनसेवा पार्टी’ दर्ता गर्ने तयारी छ ।
स्रोतका भनाइअनुसार पार्टीको नेतृत्वबारे अन्तिम निर्णय सोमबार बिहान बस्ने बैठकले गर्नेछ ।
प्रारम्भिक सहमतिअनुसार डा. अनुपकुमार उपाध्याय अध्यक्ष बन्ने र कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने योजना रहेको छ । पार्टीको नीतिमा ‘एक व्यक्ति, एक पद’ भन्ने सिद्धान्त लागू गरिनेछ— जसअनुसार सरकारमा रहेका व्यक्तिले पार्टीको पद सम्हाल्न पाउने छैनन् ।
आइतबार दिनभर काठमाडौँको बौद्धमा बसेको बैठकमा कुलमान निकट टोलीले पार्टीको रूपरेखा र नीति तयार पारेको छ । सोमबार बिहान फेरि निर्णायक बैठक बस्ने तयारी भएको छ ।
स्रोतका अनुसार नयाँ बन्ने ‘जनसेवा पार्टी’ मा काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) को पनि समर्थन रहनेछ । बालेन आफैँ भने महानगरको जिम्मेवारीमा रहनेछन् तर उनका प्रतिनिधिहरू पार्टीमा सक्रिय हुनेछन् ।
यस पार्टीमा हालै दर्ता भएको ‘जेनजी पार्टी’ पनि मिसिने तयारीमा छ । स्वतन्त्र प्रदेश सांसद ताराप्रसाद जोशी, सांसद सुमना श्रेष्ठ र शिक्षाविद् सागर ढकाल समेत नयाँ पार्टीमा सहभागी हुने बताइएको छ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङका प्रतिनिधिहरू पनि जोडिने तयारीमा छन् ।
निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्न कात्तिक ३० गतेसम्म म्याद दिएको छ । त्यसअघि नै पार्टी दर्ता गरेर ‘बलिरहेको चिम’ चुनाव चिन्हसहित काठमाडौँमै भव्य घोषणा सभा गर्ने तयारी गरिएको छ ।
स्रोतका अनुसार सुरुमा ‘उज्यालो नेपाल पार्टी’ नाममै अघि बढ्ने तयारी थियो तर टोलीका केही सदस्यले नयाँ नामको सुझाव दिएपछि ‘जनसेवा पार्टी’ नामलाई प्राथमिकता दिइएको हो ।
यदि सबै योजना सफल भए, सोमबारबाट कुलमान घिसिङको नाम नेपालका ऊर्जा अभियन्ताबाट सक्रिय राजनीतिज्ञको रूपमा आधिकारिक रूपमा स्थापित हुनेछ ।
प्रतिक्रिया