झापा । मेचीनगर नगरपालिकाले चारआलीस्थित मनकामना अस्पताललाई सबै सेवा बन्द गर्न निर्देशन दिएको छ। अस्पतालले कानुनी प्रक्रिया पूरा नगरी सेवा सञ्चालन गरिरहेको भन्दै नगरपालिकाले अस्पताललाई पत्र पठाउँदै तत्काल सेवा बन्द गर्न अनुरोध गरेको हो।
नगरपालिकाका अनुसार गत असोज ३० गते नै अस्पताललाई नियमानुसार सञ्चालन स्वीकृति सम्बन्धी आवश्यक कागजातसहित उपस्थित हुन परिपत्र गरिएको थियो। तर अस्पतालले सो निर्देशन पालना नगरेपछि सेवा बन्द गर्न बाध्य भएर पत्र पठाइएको मेचीनगर–१३ का वडाध्यक्ष तथा स्वास्थ्य शाखाले जनाएका छन्।
अनुगमनका क्रममा अस्पतालले दर्ता र नवीकरणका प्रमाणपत्र देखाउन नसकेको पाइएको थियो। नगरपालिकाको स्वास्थ्य शाखामा समेत सो अस्पताल दर्ता नभएको पुष्टि भएपछि अस्पताललाई अवैध रूपमा सञ्चालन गरिएको ठहर गरिएको हो। अस्पताल डा। दिलीपकुमार यादवको नाममा सञ्चालित रहेको बताइएको छ।
स्वास्थ्य शाखाका अनुसार कुनै पनि स्वास्थ्य संस्था दर्ता तथा नवीकरण नगरी सेवा सञ्चालन गर्नु गैर कानुनी कार्य हो। पहिलो चरणमा चेतावनी पत्र, दोस्रो चरणमा ३० हजार रुपैयाँसम्म जरिवाना र अन्तिम चरणमा दर्ता प्रमाणपत्र नै खारेज गर्न सक्ने प्रावधान रहेको शाखाले जनाएको छ।
नगरपालिकाले स्थानीय तह सञ्चालन ऐन र सम्बन्धित कार्यविधिअनुसार अनुगमन र कारबाही गर्ने अधिकार आफ्नो शाखामा रहेको स्पष्ट गरेको छ।
प्रतिक्रिया