इलाम : गत असोज १८ गते आएको बाढीले इलामका किसानको ठूलो परिश्रम एकै रातमा बगाएको छ । माई नगरपालिकाकी सावित्रा गिरीका परिवारले लगाएको करिब डेढ सय मन धान बाढीले लगेको हो । गत वर्ष पनि यस्तै बाढीले उनको धान नष्ट गरेको थियो ।
“बर्सेनि बाढीले धानबारी बगाउँछ, अब खेती गर्न पनि जाँगर हराएको छ,” गिरीले दुःखेसो पोखिन् ।
सोही स्थानका किसान टीकाराम बरालको डेढ बिघा धानबारी पनि बाढीले पूरै नष्ट गरेको छ । “धानको गेडो टिप्नु नपर्ने गरी बाढीले सोरेर लग्यो,” उनले भने ।
त्यस्तै, चूडामणि दमाईको पनि उस्तै अवस्था छ । आफ्नै १० कट्ठा र अधियाँमा जोतेको अर्को १० कट्ठा गरी २० कट्ठा जमिनमा लगाएको धान बाढीले सखाप पारेको उनले बताए । “अब लिन जाँदा २० किलो धान आयो भने भाग्ये ठान्छु,” उनले भने, “वर्षभर खान पुग्छ भनेर खेती गर्छौं, तर एकै रातको बाढीले सकाइदिन्छ।”
धानबारीमा लेदो पसेर बाली माटोभित्रै गाडिएको छ । किसानको वर्षभरको परिश्रम बाढीले बगाएपछि उनीहरू अहिले समस्यामा परेका छन् । बाढीले धान मात्र होइन, बारीमा लगाइएका दाल, भटमास लगायतका अन्य बाली पनि नष्ट भएका छन् ।
कृषि ज्ञान केन्द्र इलामका प्रमुख रविकिरण अधिकारीका अनुसार जिल्लाभर ६ सय ६५ हेक्टर ९१३ हजार ५ सय रोपनी० क्षेत्रमा लगाइएको धान खेती बाढीले पूर्ण वा आंशिक रूपमा नष्ट गरेको छ । उनका अनुसार १५ सय ७४ जना किसान प्रभावित भएका छन् । यस बाढीबाट करिब २२ सय ८९ मेट्रिक टन धान नष्ट भएको अनुमान गरिएको छ ।
अधिकारीका अनुसार जिल्लामा उत्पादन हुने कुल धानमध्ये करिब ६ प्रतिशत धान बाढीले बगाएको छ । अहिले कृषि ज्ञान केन्द्रले क्षतिको विस्तृत तथ्याङ्क संकलन गरिरहेको र प्रभावित किसानलाई राहत उपलब्ध गराउने सरकारको योजना रहेको बताइएको छ ।
प्रतिक्रिया