विराटनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मोरङ जिल्लामा ४ हजार ३ सय ८३ जना म्यादी प्रहरी भर्ना गरिने भएको छ । निर्वाचनको संवेदनशीलता, भौगोलिक अवस्था र जनघनत्वलाई ध्यानमा राख्दै मोरङका ६ वटा निर्वाचन क्षेत्रका लागि आवश्यक संख्या निर्धारण गरी म्यादी प्रहरीको माग गरिएको जिल्ला प्रहरी कार्यालय मोरगंले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरगंका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको छ । माग अनुसारको संख्या स्वीकृत भएको समेत कटवालले जानकारी दिए ।
म्यादी प्रहरीका लागि आवेदन खुल्ला गरिएपछि शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा आवेदन दिन युवायुवतीको उल्लेख्य भिड लागेको छ । रोजगारीको अवसरसँगै राष्ट्रसेवामा सहभागी हुने चाहनाका कारण आवेदन दिनेहरूको चाप बढेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयको निर्वाचन सेलअन्तर्गत इन्स्पेक्टर अभिषेककुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले म्यादी प्रहरी बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन संकलन गरिरहेको छ । आवेदन दिने समय माघ १ गतेसम्म रहने जनाइएको छ । तोकिएको अवधिभित्र आवश्यक कागजातसहित आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
म्यादी प्रहरीमा आवेदन दिन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक योग्य मानिनेछन् । साथै, फौजदारी अभियोगमा सजाय नपाएको, कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको, आतंककारी वा विध्वंसकारी गतिविधिमा संलग्न नरहेको हुनुपर्ने स्पष्ट मापदण्ड तोकिएको छ । यी सबै सर्त पूरा गरेका व्यक्तिहरू मात्र छनोट प्रक्रियामा समावेश हुनेछन् ।
म्यादी प्रहरीमा छनोट भएपछि सरकारले तोकेबमोजिमको सेवा सुविधा उपलब्ध गराइने जानकारी पनि प्रहरीले दिएको छ । छनोटमा परेका म्यादी प्रहरीलाई निर्वाचन अवधिभर मतपेटिका सुरक्षा, मतदान केन्द्रको निगरानी, भिडभाड व्यवस्थापन, मतदाता र कर्मचारीको सुरक्षाजस्ता जिम्मेवारी दिइनेछ । त्यसका लागि उनीहरूलाई आवश्यक सुरक्षा तालिम प्रदान गरिने कटवालले बताए ।
प्रतिक्रिया