विराटनगरमा ३ लाख बढी नगदसहित भारतीय नागरिक पक्राउ

शुक्रबार, २५ पुस २०८२

विराटनगर । स्रोत नखुलेको तीन लाखभन्दा बढी नेपाली रुपैयाँसहित विराटनगरबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला फारबिसगन्ज निवासी ५५ वर्षीय नन्दलाल बाहेती रहेका छन् ।

शुक्रबार बिहान करिब पौने १२ बजेतिर विराटनगर महानगरपालिका–१७ मा चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको स्कुटरमा सवार बाहेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको असई जागेन्द्र फुयाँल नेतृत्वको टोलीले जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेको बीआर ३८ एए ८३०६ नम्बरको स्कुटर रोकेर जाँच गर्दा उनको शरीरबाट नेपाली नगद फेला परेको थियो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार खानतलासीका क्रममा बाहेतीले पाइन्टको भित्री भागमा लुकाइछिपाइ राखेको अवस्थामा १ हजार दरका ३ सय थान, ५ सय दरका ४ थान र १ सय दरका ११ थान नोट बरामद भएको छ । बरामद गरिएको रकम जम्मा ३ लाख ३ हजार १ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

रकमको स्रोत खुल्न नसकेपछि बाहेतीलाई नगद र स्कुटरसहित इलाका प्रहरी कार्यालय रानीमा राखेर इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार बरामद रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार