विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशको आयोजनामा उद्योगी व्यवसायी र सरकारबीचको समन्वय सुदृढ गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। हिजो (बिहिबार) विराटनगरको बरगाछीमा आयोजित कार्यक्रममा हालै देखिएका युवा जेन्जी आन्दोलन, आसन्न निर्वाचन तथा औद्योगिक तथा व्यावसायिक क्षेत्रको शान्ति सुरक्षाका विषयमा छलफल गरिएको थियो।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सरकारका प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। अध्यक्ष सारडाले संविधान निर्माणका क्रममा राजनीतिकसँगै आर्थिक रुपमा मुलुकलाई सबल बनाउने लक्ष्य लिइए पनि व्यवहारमा चुनौती देखिएको उल्लेख गरे।
उनले युवाको भूमिकालाई महत्वपूर्ण बताए पनि रोजगारीको अभावका कारण युवाले जग्गा बेचेर विदेश जानुपर्ने अवस्था सिर्जना भएको र आन्दोलनका नाममा निजी क्षेत्र समेत असुरक्षित बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे। साथै, निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले वर्तमान संरचनाले प्रदेश र निजी क्षेत्रबीच प्रत्यक्ष सम्बन्ध नदेखिए पनि उत्पादन र लगानी प्रवर्द्धनमा सहकार्य हुँदै आएको बताए। उनले पर्यटन क्षेत्रको विकासमार्फत प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउन सकिने धारणा राख्दै उद्योगी व्यवसायीलाई पर्यटन पूर्वाधारमा लगानी गर्न आग्रह गरे।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले उद्योग व्यवसाय र सेवा क्षेत्रमा निजी क्षेत्रको योगदानको प्रशंसा गर्दै राज्यका निकायले मर्यादा र कानुनी सीमाभित्र रहेर व्यवसाय गर्नेहरूलाई सधैं सहयोग गर्ने प्रतिबद्धता जनाए।
नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे र कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्डाले चुनावको समयमा उद्योग व्यवसायको सुरक्षा, लगानी संरक्षण र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा करिब ६० जना उद्योगी व्यवसायीको सहभागिता रहेको थियो।
प्रतिक्रिया