महेन्द्रनगर (धनुषा) : मधेस प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्यका चार सिटका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चार सिट अन्य महिला, दलित, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूहअन्तर्गत छन् ।
निर्वाचन अधिकृतका अनुसार गठबन्धनबाट नेपाली कांग्रेसले अल्पसङ्ख्यक समूहमा रञ्जित कर्ण र दलित समूहमा धर्मेन्द्र पासवानको उम्मेदवारी दर्ता गराएको छ । एमालेबाट महिलातर्फ महोत्तरीकी रेखा झा र लोसपा अध्यक्ष महन्त ठाकुरले अन्य समूहबाट उम्मेदवारी दिएका छन् ।
तर जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि अलग उम्मेदवारी दर्ता गरेको छ । जसपाबाट अल्पसङ्ख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेली देवी दास उम्मेदवार छन् । जसपा नेपालका अनुसार गठबन्धनसँग भएको सहमतिअनुसार सिट बाँडफाँट कार्यान्वयन नभएपछि अलग दर्ता आवश्यक परेको हो ।
यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले दलिततर्फ शम्भु पासवान, अन्यतर्फ लक्ष्मण पौडेल, अपाङ्गता तथा अल्पसङ्ख्यकतर्फ रामानन्दप्रसाद र महिलातर्फ समी अग्रवालको उम्मेदवारी दर्ता गराएको छ ।
मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि १०४ प्रदेशसभा सदस्य र २६६ स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन् ।
प्रतिक्रिया