इटहरीमा आगलागी हुँदा तीनवटा ग्यास सिलिन्डर पड्कियो, सात लाख रुपैँया बराबरको क्षति

मंगलबार, २२ पुस २०८२

इटहरी । सुनसरीको इटहरीस्थित आइतबारेमा आज (मङ्गलवार) बिहान भएको आगलागीबाट ५ वटा पसलमा क्षति पुगेको छ।  तीमध्ये दुईवटा पसल पूर्णरूपमा जलेर नष्ट भएको र तीन वटा पसलमा आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए। 

बिहान करिब ४ः४५ बजे सेवारो फ्रेस हाउसमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको प्रहरीको अनुमान छ। 

आगो फैलिँदै जाँदा सेवारो फ्रेस हाउस र खड्का फ्रेस हाउस पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सेवारो फ्रेस हाउसमा करिब दुई लाख रुपैयाँ र खड्का फ्रेस हाउसमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको डिएसपी हमालले बताए। खड्का फ्रेस हाउसको २ वटा सटर जलेको र  सटरभित्र राखिएको एक थान मोटरसाइकल समेत जलेको उनले जानकारी दिए।

यसैगरी नमस्ते फ्रेस हाउस, पूर्वाञ्चल फ्रेस हाउस र गणेश सब्जी पसलमा आंशिक क्षति पुगेको छ। नमस्ते फ्रेस हाउसमा करिब एक लाख १० हजार, पूर्वाञ्चल फ्रेस हाउसमा पाँच हजार र गणेश सब्जी पसलमा करिब ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ। नमस्ते फ्रेस हाउस, पूर्वाञ्चल फ्रेस हाउस र गणेश सब्जी पसलका सामाग्रीहरू प्रहरी र सेनाले बाहिर निकालेर आगो लाग्नबाट जोगाएको डिएसपी हमालले बताए । आगलागीबाट ६ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीका क्रममा फ्रेस हाउसमा रहेका तीन वटा ग्यास सिलिन्डर पड्किएको र आगो तीव्र रूपमा फैलिएको प्रहरीले जनाएको छ।

 इटहरी उपमहानगरपालिकाको दमकल जेनजी आन्दोलनका क्रममा जलेर प्रयोगमा नरहेकाले धरान, झुम्का र दुहबीबाट आएका दमकलसहित मेजरको नेतृत्वमा रहेको नेपाली सेना र इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी हमालको नेतृत्वमा रहेको प्रहरी टोलिले संयुक्त रूपमा आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ  । 

आगलागीको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार