काठमाडौँ : सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा योगदान पुर्याएको भन्दै नेपाल सरकारले कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ र यसको नेतृत्वलाई सम्मान गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनभीटीए) को दोस्रो वार्षिकोत्सवका अवसरमा ललितपुर भैँसेपाटीमा आयोजित समारोहमा क्यान महासंघलाई संस्थागत रूपमा र महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी तथा महासचिव चन्द्र विलास भुर्तेललाई व्यक्तिगत रूपमा सम्मान पत्र प्रदान गरिएको थियो ।
क्यान महासंघले ‘हातमै सीप’ अवधारणाअनुसार व्यावसायिक तथा सफ्ट स्किल्स एकीकृत गर्दै दक्ष जनशक्ति उत्पादनमा भूमिका खेलेको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा एनभीटीएसँग सहकार्यमा कम्प्युटर क्षेत्रमा दुईवटा सीपमूलक पाठ्यक्रम सञ्चालन गरेको क्यानले डिजिटल दक्षता र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याएको जनाएको छ ।
सम्मान ग्रहण गर्दै क्यान महासंघले आगामी दिनमा पनि आईसीटी क्षेत्रको सीप विकास र रोजगार सिर्जनामा सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया