काठमाडौँ : पूर्व मेचीदेखि पश्चिम महाकाली छिचोल्ने पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) हाल विभिन्न छ वटा खण्डमा विस्तार भइरहेको छ। मुलुकको प्रमुख यातायात ‘लाइफलाइन’ मानिने यो राजमार्ग विस्तार भएपछि तराई/मधेशसहित देशका आधाभन्दा बढी जनता लाभान्वित हुने विश्वास गरिएको छ।
पहिले दुई लेनको भएको सो राजमार्ग अहिले सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र वनजंगल तथा सवारी चाप कम भएका क्षेत्रमा चार लेनमा विस्तार भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर सुशीलबाबु ढकालले जानकारी दिनुभयो। दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक) कार्यक्रम अन्तर्गत एसियाली राजमार्ग मापदण्डअनुसार राजमार्गका विभिन्न खण्ड विस्तार भइरहेका हुन्।
उहाँका अनुसार विभिन्न दातृ निकायको ऋण तथा अनुदानको सहयोगमा हाल काँकडभिट्टा–इटहरी खण्ड (९३ किलोमिटर), कञ्चनपुर–कमला खण्ड (८६.८३ किलोमिटर), कमला–ढल्केबर–पथलैया खण्ड (१३० किलोमिटर), नारायणगढ–बुटवल खण्ड (११३ किलोमिटर), बुटवल–गोरुसिङ्गे–चनौटा खण्ड (६९ किलोमिटर) र कपिलवस्तु–दाङ / धानखोला–शिवखोला खण्ड (४० किलोमिटर) विस्तार भइरहेको छ।
कमला–ढल्केबर–पथलैया खण्ड र बुटवल–गोरुसिङ्गे–चनौटा खण्ड विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार हुँदैछ भने काँकडभिट्टा–इटहरी, कञ्चनपुर–कमला र नारायणगढ–बुटवल खण्डको विस्तार एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा भइरहेको छ। त्यसैगरी कपिलवस्तु–दाङ / धानखोला–शिवखोला खण्ड एमसिसी परियोजनाअन्तर्गत भइरहेको छ। एमसिसी अन्तर्गत भएका खण्डबाहेकका खण्डका ठेक्का प्रक्रिया २०७५ सालदेखि सुरु भए पनि अहिलेसम्म कुनै पनि खण्डको काम पूरा हुन सकेको छैन।
काँकडभिट्टा–इटहरी खण्ड:
पूर्व–पश्चिम राजमार्गको पूर्वी प्रस्थान बिन्दु मानिने यो खण्डको विस्तारका लागि अक्टोबर २०२४ मा ठेक्का व्यवस्था भई २०८० असोज २३ गतेदेखि काम सुरु भएको हो। अहिलेसम्म यस खण्डको भौतिक प्रगति २१ प्रतिशत पुगेको छ।
रुख कटानीको काम सम्पन्न भई विद्युत्, खानेपानी लगायत संरचना हटाउने, माटो भरण तथा पुलहरूको पाइल फाउन्डेसन र केही कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ — सडक विभाग, एडिबी निर्देशनालयका प्रमुख चूडाराज ढकालले जानकारी दिनुभयो। यस आयोजनामा निन्दा, विरिङ, कनकाई, रतुवा, बक्राहा र लोहन्द्रा नदीमा रहेका पुलहरूको निर्माण तथा स्तरोन्नति गर्नुपर्नेछ।
२०८० कात्तिक २ गते निर्माण सम्झौता भएको यस आयोजनाको लक्ष्य २०८३ माघ १८ गते भित्र सम्पन्न गर्ने राखिएको छ। आयोजनाको कुल लागत ३४ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा हालसम्म ३ अर्ब ६८ करोड रुपैयाँ खर्च भइसकेको छ।
कञ्चनपुर–कमला खण्ड:
विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकार र निर्माण कम्पनीबीच २०७७ असार ११ गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०८० कात्तिक ११ गतेसम्म काम सम्पन्न गर्ने रहेकोमा म्याद थप गरी अब २०८३ पुस १६ गतेसम्म म्याद थप गरिएको छ। अहिलेसम्म भौतिक प्रगति ५०.३ प्रतिशत र वित्तीय प्रगति ५६.२ प्रतिशत पुगेको छ। कुल लागत १५ अर्ब ६६ करोड रुपैयाँ रहेको यस आयोजनालाई दुई खण्डमा विभाजन गरिएको छ। उक्त खण्डमा ५४ वटा मुख्य पुल, २१८ कल्भर्ट र ७४.९६ किलोमिटर ड्रेन निर्माण गर्नुपर्नेछ।
कमला–ढल्केबर–पथलैया खण्ड:
सडक विभागका अनुसार कमला–ढल्केबर खण्डको ७५ किलोमिटरमा निर्माण कार्य सुरु भइसकेको छ भने बाँकी बागमती–पथलैया ५३ किलोमिटरको विस्तार कार्य दोस्रो चरणमा सुरु गरिनेछ। तीन वर्षभित्र (२०८४ पुस १६ गतेसम्म) काम सम्पन्न गर्ने लक्ष्यका साथ २०८१ पुस १७ गते ठेक्का सम्झौता गरिएको थियो। अहिलेसम्म भौतिक प्रगति १०.९१ प्रतिशत र आर्थिक प्रगति १०.२६ प्रतिशत पुगेको छ। यस खण्डको कुल लागत ३२ अर्ब ३० करोड रुपैयाँ रहेकोमा हालसम्म ३ अर्ब ६ करोड रुपैयाँ खर्च भइसकेको छ।
नारायणगढ–बुटवल खण्ड:
करिब चार वर्षभित्र (२०७९ साउन २२ गतेसम्म) काम सम्पन्न गर्ने गरी २०७५ पुस ४ गतेदेखि विस्तार सुरु गरिएको यस खण्डको अहिलेसम्म भौतिक प्रगति ६९.१८ प्रतिशत र वित्तीय प्रगति ६२.४० प्रतिशत पुगेको छ। आयोजनाको म्याद २०८३ साउन ७ गतेसम्म थप गरिएको छ। सुरुमा निर्धारण गरिएको लागत १६ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा हाल १७ अर्ब २७ करोड रुपैयाँसम्म बढेको छ।
बुटवल–गोरुसिङ्गे–चनौटा खण्ड:
आर्थिक वर्ष २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का सम्झौता आर्थिक वर्ष २०८०/८१ मा भएको थियो। सडक विभागका अनुसार अहिलेसम्म भौतिक प्रगति १२.३३ प्रतिशत र वित्तीय प्रगति ८.७५ प्रतिशत पुगेको छ। यस आयोजनाको कुल लागत १८ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
प्रतिक्रिया