विराटनगर : राष्ट्रियसभा सदस्य निर्वाचनमा समयले नै परिणाम निर्धारण गरेको एउटा रोचक उदाहरण कोशी प्रदेशमा देखिएको छ । विपक्षी उम्मेदवार समयमै निर्वाचन अधिकृतको कार्यालय नपुग्दा नेपाली कांग्रेसका नेता सुनील थापा कुनै प्रतिस्पर्धाबिनै राष्ट्रियसभा सदस्य बन्न पुगेका छन् ।
बुधबार सम्पन्न मनोनयन दर्ताको क्रममा नेकपाका उम्मेदवार हेमराज घिमिरे समयमै विराटनगर नपुगेपछि ‘अन्य’ समूहमा थापाको एकल उम्मेदवारी कायम रह्यो । यससँगै कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा थापा निर्विरोध निर्वाचित भएका हुन् । औपचारिक घोषणा भने निर्वाचन कार्यतालिकाअनुसार पुस २७ गते हुनेछ ।
थापाको निर्विरोध निर्वाचन राजनीतिक संयोग मात्र होइन, उनको लामो र घुमाउरो राजनीतिक यात्राको अर्को मोडका रूपमा हेरिएको छ । राजावादी धारका प्रभावशाली नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील थापाले २०७७ सालमा राप्रपाको संकटपछि नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
राष्ट्रियसभा सदस्यमा उम्मेदवार बन्नुअघि थापाले राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयबाट राजीनामा दिएका थिए । उनी २०७९ चैत १६ गते राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए ।
सुनील थापा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका नेता हुन् । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा उनले धनकुटा क्षेत्र–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष सिट जितेका थिए । त्यो क्षेत्र उनका पिता सूर्यबहादुर थापाको राजनीतिक विरासतको केन्द्र मानिन्छ ।
२०७४ जेठमा गठन भएको शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा थापा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । तर, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा धनकुटा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भए । राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत प्राप्त गरेका थिए ।
प्रत्यक्ष निर्वाचनमा पराजय भोगेपछि थापा पुनः राष्ट्रिय राजनीतिमा सक्रिय भूमिकामा फर्किएका छन् । राष्ट्रियसभामा उनको प्रवेशलाई कांग्रेसभित्र अनुभव र राजनीतिक निरन्तरताको पुनरागमनका रूपमा हेरिएको छ ।
प्रतिक्रिया