नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ ।
शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जित्दै च्याम्पियन बन्न सफल भएको हो ।
नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो । सामोआका लागि सिन सोलियाले सर्वाधिक ४० रन योगदान दिए । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट झारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन बनाएको थियो । आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए भने दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रनको योगदान दिए । अन्त्यतिर लोकेश बमले ११ बलमा ३९ रनको विस्फोटक खेल प्रदर्शन गरे । कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे ।
समूह चरणमा नेपालले कुवेत र जापानलाई हराउँदै सुपर सिक्समा प्रवेश गरेको थियो । सुपर सिक्समा नेपालले यूएईमाथि १ रन, कतारमाथि ५ रन र ओमानमाथि ३८ रनको जित निकाल्दै अपराजित यात्रा पूरा गरेको हो ।
छनोट प्रतियोगिताबाट नेपालसँगै यूएई र ओमानले पनि आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि टिकट पक्का गरेका छन् ।
प्रतिक्रिया