डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

सोमबार, २९ मंसिर २०८२
सांकेतिक फाईल

काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छभने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर  चार रुपैयाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । 

मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि  १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ कायम भएको छ । त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ कायम भएको छ । 

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ । 

निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । 

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा  प्रतिलिटर छ रुपैयाँ ९३ पैसा घटेर तथा पेट्रोलमा एक रुपैयाँ ९४ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार