विराटनगर : भदौ २४ गते जेल तोडी फरार भएका दुई जना कैदी अन्ततः प्रहरीको फन्दामा परेका छन् । झुम्का र सिन्धुली कारागारबाट फरार भएका ती दुईमध्ये एक जना विराटनगरमा स्कुटर चोरी गर्दै भारत भाग्ने क्रममा पक्राउ परेका हुन् भने अर्का कैदी घरमै लुकेर बसिरहेको अवस्थामा नियन्त्रणमा आएका हुन् ।
झुम्काबाट भागेका अभिषेक जैसवाल समातिए
सुनसरीको इटहरी उपमहानगर–२ का २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाल बुधबार राति विराटनगरमा चोरीको स्कुटरसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनले विराटनगर–१ नेताचोकबाट को ३८ प ४९७२ नम्बरको स्कुटर चोरी गरेर भारततिर भाग्ने प्रयास गरेका थिए ।
डीएसपी कोपिला चुँडालका अनुसार इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राईको टोलीले दरैयास्थित सीमाक्षेत्रमा चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो । “स्कुटरको कागजपत्र नमिल्दा सोधपुछ गर्दा झुम्काबाट फरार भएको खुलेको हो,” उनले भनिन् ।
जैसवाल यसअघि पनि मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेका थिए । जिल्ला अदालत सुनसरीले उनलाई गत जेठमा ५ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । जेलमा सजाय भुक्तान गरिरहेका बेला उनी अन्य कैदीसँगै झुम्काबाट भागेका थिए ।
सिन्धुलीबाट भागेका उपेन मण्डल पनि पक्राउ
त्यस्तै, जिल्ला कारागार सिन्धुलीबाट फरार भएका ३९ वर्षीय उपेन मण्डल पनि पक्राउ परेका छन् । मोरङको धनपालथान गाउँपालिका–३ सोराभागमा घरमा लुकेर बसेका उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
मण्डल जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ८ वर्ष ६ महिना कैद सजाय सुनाइएको व्यक्ति हुन् । ७ वर्ष कैद भुक्तान गरिसकेका उनी बाँकी १ वर्ष ६ महिना कैद कटाउनुपर्ने अवस्थामा जेनजी आन्दोलनका बेला भदौ २४ गते भागेका थिए ।
प्रहरीका अनुसार उनलाई जिल्ला कारागार मोरङबाट पछि सिन्धुली स्थानान्तरण गरिएको थियो । पक्राउ परेका मण्डललाई बाँकी सजाय भुक्तानका लागि पुनः सिन्धुली कारागार पठाउने तयारी भइरहेको डीएसपी चुँडालले बताइन् ।
प्रतिक्रिया