वडा अध्यक्ष राईद्वारा कम्प्युटर, प्रिन्टर र इन्टरनेट सेवा जडान सहयोगको घोषणा

सोमबार, २९ मंसिर २०८२

धरान: नेपाली काँग्रेसका धरान उपमहानगर उपसभापति एवम् धरान–१८ का वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविन) ले कम्प्युटर, प्रिन्टर तथा इन्टरनेटसम्बन्धी उपकरण उपलब्ध गराउने र इन्टरनेट सेवा तत्काल जडान गर्ने घोषणा गरेका छन्।

गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा अवाञ्छित गतिविधि गर्ने समूहले घुसपैठ गरी धरान–२ स्थित बलबहादुर राई–भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए।

उक्त घटनाबाट कार्यालयका कम्प्युटर, प्रिन्टर तथा इन्टरनेटसम्बन्धी उपकरण नष्ट भएपछि नेपाली काँग्रेस धरानका संसदीय दलका नेता समेत रहेका राईले कार्यालयका लागि आवश्यक कम्प्युटर, प्रिन्टर र इन्टरनेटसम्बन्धी उपकरण तथा सेवा तत्काल उपलब्ध गराउने घोषणा गरेका हुन्।

तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालय पुनर्निर्माणका लागि राईले यसअघि नै २५ हजार रुपैयाँ सहयोग गरिसकेका छन्। उनले यसअघि पनि पार्टी कार्यालयमा सिसी क्यामेरा जडानलगायत विभिन्न भौतिक सामग्री तथा पूर्वाधार निर्माणमा सहयोग गर्दै आएका छन्।

नेपाली काँग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरणसम्बन्धी क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न बैठकमा वडा अध्यक्ष राईले उक्त सहयोगको घोषणा गरेका हुन्।

कम्प्युटर, प्रिन्टर र इन्टरनेट सेवा अवरुद्ध हुँदा पार्टी सदस्यहरूको विवरण तथा आवश्यक कागजातको डिजिटल अभिलेख राख्न र अन्य कम्प्युटरसम्बन्धी कार्य गर्न पूर्ण रूपमा असुविधा भएको क्षेत्रीय सभापति तामाङले जिकिर गरेपछि वडा अध्यक्ष राईले तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

काँग्रेसको आसन्न १५औँ महाधिवेशनमा राईले धरान उपमहानगर सभापति पदका लागि आफ्नो तयारी पनि तीव्र बनाएका छन्।  काङ्ग्रेसभित्र राईलाई कुशल, निडर, सहयोगी, समाजसेवी, लोकप्रिय तथा स्वच्छ छविका नेताका रूपमा लिइन्छ। नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलमा विभिन्न जिम्मेवारी सम्हाल्दै काँग्रेसको क्षेत्रीय सदस्य भइसकेका उनी लगातार दोस्रो पटक अत्यधिक बहुमतका साथ धरान–१८ का वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

काँग्रेसको नगर अधिवेशन २०८२ साल पौष १७ गते तोकिएको छ। पौष १६ गते वडा अधिवेशन, पौष १९ गते प्रदेशसभा अधिवेशन, पौष २१ गते प्रतिनिधिसभा तथा एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको अधिवेशन, पौष २२ गते जिल्ला अधिवेशन, पौष २३ र २४ गते प्रदेश अधिवेशन तथा पौष २६, २७ र २८ गते केन्द्रीय महाधिवेशन हुने तालिका सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार