धरान: नेपाली काँग्रेसको १५औँ महाधिवेशन घोषणा भएसँगै सुनसरीमा पनि नयाँ क्रियाशील सदस्यता फाराम वितरण गरिएको छ । सुनसरीको क्षेत्र नं. १ अन्तर्गत पर्ने धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाका वडाहरूलाई नयाँ सदस्यता फाराम वितरण गरिएको हो ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको प्रदेशसभा तथा पालिका समेटिएको संयुक्त बैठकले वडा सभापति वा वडा सभापतिले तोकेको प्रतिनिधिलाई नयाँ सदस्यता फाराम प्रदान गरेको हो ।
बैठकमा १८ देखि ३० वर्ष उमेर समूहका युवालाई सदस्यता प्रदान गर्दा विशेष प्राथमिकता दिन वडा सभापतिहरूलाई सुझाव दिइएको सभापति तामाङले बताए ।
बैठकमा प्रदेशसभा १ (१) का सभापति अनिल श्रेष्ठ र प्रदेशसभा १ (२) का कोषाध्यक्ष हरि थापालाई सभापति तामाङले क्रियाशील सदस्यता फाराम प्रदान गरेका थिए । त्यसपछि उनीहरूले धरान नगर सभापति श्याम पोखरेल, रामधुनी नगर समितिका प्रतिनिधि दिनेश राई र बराहक्षेत्र नगरका प्रतिनिधि रामराज महतलाई सदस्यता फाराम प्रदान गरेका थिए । त्यसैगरी धरान नगर सभापति श्याम पोखरेल, रामधुनी नगर समितिका प्रतिनिधि दिनेश राई र बराहक्षेत्र नगरका प्रतिनिधि रामराज महतले आ–आफ्ना मातहतमा पर्ने वडाका सभापति वा सभापतिले तोकेका प्रतिनिधिहरूलाई सदस्यता फाराम प्रदान गरेका थिए ।
बैठकमा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य मीना सुब्बा, कोशी प्रदेश महामन्त्री उमेश थापा, कोशी प्रदेश सदस्यद्वय सन्तोष वि.क. र गणेश परियार, जिल्ला सचिव माधव घिसिङलगायतको उपस्थिति रहेको थियो । क्षेत्रीय सभापति सुजेन्द्र तामाङ र धरान नगर सभापति श्याम पोखरेलले नयाँ क्रियाशील सदस्यता वितरणसम्बन्धी विषयमा विशेष विचार राखेका थिए ।
प्रतिक्रिया