झापा : जिल्ला प्रशासन कार्यालय झापाले तिहार तथा छठ पर्व लगायतका चाडवाडमा समाजमा आतङ्क सृजना गर्ने गरी पटका पड्काउने, भाईचम्पा, आतिसवाजी गर्ने कार्य नगर्न नगराउन भन्दै सूचना जारी गरेपछि जिल्ला प्रहरी कार्यालय झापा अहिले पटका नियन्त्रण कार्यमा सक्रिय देखिएको छ ।
खुल्ला सिमानाको फाइदा उठाउँदै झापाका विभिन्न नाकाबाट खुलेआम भित्रिएको पटका नियन्त्रणमा सक्रिय रहेको प्रहरीले विभिन्न स्थानबाट लाखौँ मूल्य बराबरको पटका बरामद गरिरहेको छ ।
गए राति मात्रै बिर्तामोड नगरपालिका ४ बस्नेत फ्रेस हाउस छेउबाट विशेष सूचनाको आधारमा एक लाख ५० हजार मूल्य बरावरको तीन हजार प्याकेट पटका इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लियो ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव निरीक्षक विकाश पोखरेलको कमाण्डमा खटिएको प्रहरीको टोलीले बेवारिसे अवस्थामा राखिएको भन्दै खोसार्नी पटका ६० बन्डल बरामद गरी इलाका प्रहरी कार्यालय अनारमनी लगेको छ ।
गए राति नै शिवसताक्षी नगरपालिका ८ झिलझिले स्थित राजमार्गबाट पनि प्रहरीले ठूलो मात्रामा जगमग (आलूबम) ४०८ बट्टा, झिरझिरे पटका ११ वट्टा, सोली बम पटका ४० बट्टा बरामद गरेको थियो । बरामद गरिएको सामग्री इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी सहायक निरीक्षक भुवल भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले मे १ ह ३१२० नम्बरको अटोमा अवैध रूपमा लुकाई छिपाई दमक तर्फ पटका लैजाँदै गरेको अवस्थामा सो पटका बरामद गरिएको प्रहरीले जनाएको छ ।
यता अर्जुनधारा ८ स्थित शनिश्चरे बजारबाट तीन लाख मूल्य बराबरको अवैध पटका गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । अर्जुनधारा ८ स्थित रमेश खनालले सञ्चालन गरेको कोल्ड सेन्टर पश्चिम तर्फको गोदामबाट काटुन तथा बोरामा पोका बनाई राखेको अवस्थामा विभिन्न ब्राण्डका पटका बरामद भएको हो । बरामद गरिएका पटका इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याइएको बताइएको छ ।
यसअघि पनि प्रहरीले झापाका विभिन्न स्थानबाट १० लाख मूल्य बढीको पटका नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको पटक कतिपय प्रहरी युनिटहरुले नष्ट गरेका छन् भने कतिपय पटका जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
यता जेनजी आन्दोलनपछि हराएका प्रहरीका हातहतियार भने अझैँ फेला पर्न सकेका छैनन् । आन्दोलनमा आफैँ विस्थापित बनेका प्रहरी बिस्तारै दैनिक काममा फर्किएसँगै पटका नियन्त्रणमा आक्रामक देखिएको हो । आन्दोलनका क्रममा भवनसँगै सवारी साधनसमेत जलेर नष्ट छन् ।
जुन क्रममा प्रहरीका हतियार समेत लुटिएका छन् । लुटिएका हतियार अझै पनि समुदायमा लुकाई छिपाई राखिएको छ । प्रहरीबाट लुटिएको हतियार फिर्ता गर्न अनुरोध गरेको प्रहरीले हतियार खोजी कार्यमा खासै चासो नदेखाएको सरोकारवालाहरू बताउँछन् । जसका कारण लुटिएका हतियार प्रहरीको नियन्त्रण भन्दा बाहिर छन् ।
जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार र ५६९० वटा गोली तथा १८० सेल अश्रुग्याँस अझैँ गायब भएको छ । जसका कारण समुदायमा जोखिम कायमै छ ।
इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका लामो हतियार(एसएलआर लगायत) १४ थान र त्यसको गोली ४ हजार भन्दा बढी, सानो हतियार(पेस्तोल–रिभल्भर) २ थान र त्यसमा लोड गरिएको ४० राउण्डगोली, सर्टगन÷ग्यासगन ४ थान र त्यसको १८० सेल ग्यास अझैँ गायब छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका लामो नाल(एसएलआर) १ थान र त्यसको १५०० भन्दा बढी गोली, सानो हतियार(पेस्तोल–रिभल्भर) ३ थान र त्यसमा प्रयोग हुने १५० भन्दा बढी राउण्ड गोली गायब छ ।
लुटिएका हतियार मध्ये मानव अधिकारकर्मीको रोहवरमा आन्दोलनकारीले केही हतियार गरेका थिए । उनीहरूले फिर्ता गरेका ८५ थान हतियार चार्लीस्थित अरिदमन गणले प्रहरीलाई जिम्मा लगाएको थियो ।
आन्दोलनकै क्रममा झापाका विभिन्न प्रहरी युनिटबाट ८९ जना थुनुवा फरार छन् । ९२ जना थुनुवा फरार भए पनि तीन जना थुनुवा भने प्रहरीको सम्पर्कमा आएका छन् । बाँकी थुनुवा समुदायमा छन् । ठूलो मात्रामा प्रहरीबाट लुटिएको हतियार र गोली तथा विभिन्न आपराधिक क्रियाकलामा सक्रिय थुनुवा समेत प्रहरीको नियन्त्रण बाहिर रहेकाले झापामा शान्ति सुरक्षाको जोखिम उच्च छ ।
जिल्ला प्रशासन कार्यालय झापाले समाजमा शान्ति सुव्यवस्था कायम गर्न विशेष अनुरोध गरिरहेको छ । बिहीबार मात्रै सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय झापाले तिहारमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने जनाएको हो । जारी सूचनामा प्रचलित कानुनले वर्जित गरेका खेल जुवा तास, लङ्गुरबु्रर्जा(डाइस) नखेल्न भने पनि प्रहरीबाट लुटिएका हतियार खोजी गर्न र बुझाउन अनुरोध गरिएको छैन ।
प्रतिक्रिया