मोरङ : मोरङको रतुवामाई नगरपालिका–७ मलामीघाटमा जुवा खेल्ने तयारी भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले सात जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक कैलाश लिम्बुको कमाण्डमा गएको टोलीले आइतबार राति करिब ११:३० बजे मलामी बस्न बनाइएको घरमा पुग्दा ५०–६० जना मानिस भेला भएका थिए।
प्रहरी पुग्ने बित्तिकै ती व्यक्तिहरू तितरबितर भएर भाग्न खोजे पनि प्रहरीले तत्कालै सात जनालाई नियन्त्रणमा लिएर सोधपुछ तथा खानतलासी गरेको थियो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथमा जुवाजन्य सामग्री फेला नपरे पनि वरिपरि खोजतलास गर्दा घरको बिममा कौडामा प्रयोग हुने पाउडर, रुमालमा बाँधिएका १५ थान कौडा, एक बुक तास र एक थान इन्भर्टर फेला परेको थियो। साथै, नियन्त्रणमा लिइएकाहरूको साथबाट नेपाली नगद ६५ हजार ६५० रुपैयाँ र भारतीय २ हजार ५०० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बुद्धिमान बस्नेत, देवीप्रसाद प्रसाईँ, लक्ष्मीप्रसाद मैनाली, ओम भट्टराई, रत्नबहादुर कार्की, वीरेन्द्र साह र विवेक साहलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी अनुसन्धान सुरु गरिएको छ।
प्रतिक्रिया