विशेष कि नियमित महाधिवेशन : के भन्छन् कांग्रेस कोशीका जिल्ला सभापतिहरू ?

मंगलबार, २८ असोज २०८२

इटहरी : जेनजी आन्दोलनको झट्कापछि नेपाली कांग्रेस गम्भीर पुनर्विचारको चरणमा पुगेको छ। आन्दोलनपछि पहिलो पटक आज सभापति शेरबहादुर देउवा सार्वजनिक देखिए पनि स्वास्थ्य कारण उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिँदै केन्द्रीय समिति बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

तर देउवाको अनुपस्थितिमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा पार्टीलाई “चलायमान र जनविश्वास योग्य बनाउने” अभियानमा खुलेका छन्। उनीहरू नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्ने तयारीमा जुटेका छन्। पार्टीको म्याद सकिँदै गएको र क्रियाशील सदस्यता नवीकरणमा समेत ढिलाइ भइरहेको अवस्थामा उनीहरूले प्रतिनिधिहरूबाट हस्ताक्षर सङ्कलन अभियान सुरु गरेका छन्।

काङ्ग्रेसभित्रको अर्को बलियो ध्रुव डा. शेखर कोइराला समूह पनि समयमै नियमित महाधिवेशनको पक्षमा उभिएको छ। उनले नेतृत्व तहलाई स्पष्ट सन्देश दिएका छन् — “म्याद नथप, महाधिवेशन गर।”

यता, गगन–विश्व समूह भने “दललाई नयाँ ऊर्जा दिन अब विशेष महाधिवेशन अपरिहार्य” भन्दै बिहीबारकै बैठकमा हस्ताक्षर बुझाउने तयारीमा जुटेका थिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशभर सत्तारूढ दल र विपक्षी दुवैप्रति जनताको असन्तुष्टि उजागर गर्‍यो। भ्रष्टाचार, दलदल र नेतृत्वको दोहोरिएको असफलताले जनता काँग्रेसप्रति पनि विमुख भएका छन्। आन्दोलनपछि शीर्ष नेतामाथि जनविश्वास झनै घटेको मूल्याङ्कन पार्टीभित्रै सुनिन थालेको छ। यस्तै अवस्थामा प्रदेश खबरले कोशी प्रदेशका १४ जिल्ला सभापतिहरूसँग कुरा गरेको छ — काँग्रेस अब कुन बाटो जानु पर्छ ? विशेष महाधिवेशन कि नियमित ?

कतिपय सभापतिहरूले तत्काल विशेष महाधिवेशनको पक्ष लिएर “युवाहरूमा ऊर्जा भर्ने अवसर यही हो” भनेका छन्। तर केही सभापतिहरूले “घाइते सङ्गठनलाई हतारमा धकेल्नु बुद्धिमानी होइन, तयारीसहितको नियमित महाधिवेशन नै दीर्घकालीन समाधान” बताएका छन्।

काङ्ग्रेसभित्र अहिले “विशेष बनाम नियमित” महाधिवेशनको रस्साकस्सीले नयाँ ऊर्जा र नयाँ तनाव दुवै सृजना गरेको छ। पार्टीभित्र नेतृत्व हस्तान्तरण, वैचारिक स्पष्टता र सङ्गठन पुनः संरचना — यी तीन विषयले अबको काँग्रेसको बाटो तय गर्ने देखिन्छ।

जिल्ला सभापतिहरुसंग गरिएको कुराकानीको सम्पादित अंश यस प्रकार रहेको छ :

केदार भण्डारी (सुनसरी जिल्ला सभापति)

क्रान्तिको वेलामा बहुमत अल्पमत कुरा भन्दा पनि पार्टी कसरी जोगाउन सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण भएको भन्दै पार्टी रूपान्तरणको आवश्यकता भण्डारीले औँल्याएका छन् । ‘शेरबहादुर दाइलाई अब के को सभापति चाहिएको हो । उनले भने,‘अहिलेको नेतृत्वमा पार्टीले के भनेर निर्वाचनमा जाने ?’

भण्डारीले जेहनजीले जसरी भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नका लागि भनेर आन्दोलन गरेको उल्लेख गर्दै पार्टी पनि त्यसतर्फ बढ्नुपर्ने बताए । 

‘त्यसको लागि अहिलेको नेतृत्वबाट सम्भव छैन, अब नियमित महाधिवेशन नभए विशेष महाधिवेशनबाट पार्टी नयाँ नेतृत्वका साथ चलायमान ढङ्गबाट अगाडि बढ्नु पर्दछ, मेरो स्पष्ट धारणा यही हो ।’ उनले भने । 

डिगबहादुर लिम्बु (मोरङ जिल्ला सभापति)

समयमै नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बु नयाँ नेतृत्वका साथ नै चुनावमा जानुपर्ने बताउँछन् । त्यसका लागि पार्टीको केन्द्रीय समितिले स्पष्टरुपमा मार्ग कोर्नुपर्ने उनको तर्क छ । 

‘अब मन्सिरमा अधिवेशन नहुँदाखेरि समय थप गर्नुपर्ने हुन्छ । अहिले नै केन्द्रीय समितिले निर्णय गरेर हामी नियमित महाधिवेशनतर्फ जाऔँ । त्यसो हुँदा नयाँ फ्रेस युवा साथीहरूलाई समेत पार्टीमा जोड्न सहज हुन्छ ।’ उनले भनेका छन् ।

पार्टी मात्रै नभएर देशनै ध्वस्त भएको वेलामा सबै पार्टीहरूले अधिवेशन तोकेको उल्लेख गर्दै कांग्रेसले सोही तर्फ अगाडि बढ्नुपर्नेमा लिम्बुको जोड छ । नवीकरणका साथै नयाँ क्रियाशीललाई केही समय छुटाएर काम गर्दा अधिवेशनको ८ तहकै नेतृत्व चयन समयमै गर्न सकिने बताउँदै उनले त्यसका लागि केन्द्रीय समितिले उपयुक्त निर्णय गर्नुपर्ने बताए । 

उनी भन्छन्,‘विशेष महाधिवेशनको खतरा भनेको नयाँ मान्छे जोडिने ठाउँ हुँदैन । त्यस कारण युवाहरूलाई ढोका लगाएर जान सक्ने अवस्था पनि हाम्रो छैन ।’ अहिलेको नेतृत्व शेरबहादुर दाइको मात्रै नभएर सबै पदाधिकारी सहितको भएको बताएका लिम्बुले पार्टीको व्यवस्थापन र पोलिसि मुख्य कुरा भएको उल्लेख गरेका छन् । उनले थपे,‘त्यसपछि नेतृत्वको कुरा आउँछ ।’

देउमान थेवे (झापा जिल्ला सभापति)

थेवे वर्तमान आन्दोलन भन्दा विषम परिस्थितको सामना गरेर यहाँसम्म आएको स्मरण गर्दै पार्टी विधानअनुसार अगाडि बढ्ने बताउँछन् । 

‘हाम्रो केन्द्रीय समितिको बैठकले नै यस विषयमा स्पट धारणा अगाडि बढाउँछ । केन्द्रीय समितिको निर्णयअनुसार हामी अगाडि बढ्नुपर्दछ ।’ उनले भने । 

बाहिर कसले के भन्छ भन्दा पनि पार्टीले संस्थागतरुपमा के गर्छ भन्ने कुरा महत्त्वपूर्ण रहने उल्लेख गर्दै थेवेले जे कार्यमा पनि विधान बाहिर गएर काम गर्न नसकिने उल्लेख समेत गरेका छन् ।

डम्बर खड्का (इलाम जिल्ला सभापति)

जिल्लामा भरखरै गएको बाढी पहिरोमा भएको क्षति र पुनः निर्माणको कार्यमा जुट्दै गरेको अवस्थामा सम्पर्कमा आएका खड्काले हस्ताक्षर अभियानका सन्दर्भमा कसले के गर्छ त्यसको जिम्मा लिन नसकिने उल्लेख गरे । 

‘माथि शेरबहादुर या गगन या अरू कोही त्यसका यहाँ के फरक पर्छ र यहाँ हामीले काम गर्ने हो ।’ उनले भनेका छन् ।

आफूलाई केही भन्न आवश्यक नठानेका खड्का पार्टीको निर्णयबमोजिम चल्ने कुरामा स्पष्ट भने देखिएका छन् ।

रुपनारायण जवेगु (पाँचथर जिल्ला सभापति)

विशेष महाधिवेशनले पार्टीभित्र दीर्घकालीन असर देखेका पाँचथर जिल्ला सभापति जवेगुले नियमित महाधिवेशनलाई नै जोड दिएका छन् । ‘आज विशेष भनेर गर्यो भोली फेरी अर्कोले अर्को विशेष भनेर गर्यो भने हामी कुन नजिरमा पुग्छौँ । त्यस कारण अहिले हाम्रा नेताहरु पनि घरबारविहीन भएको यो अवस्थामा संयमित भएर अगाडि बढ्नु पर्दछ ।’ उनले भने ।

जवेगु केन्द्रीय नेतृत्व मात्रै नभएर सबै नयाँ हुनुपर्ने आवस्यक्ता आउन सक्ने बताउँदै भन्छन्, ‘केन्द्रीय नेतृत्व परिवर्तन मात्रै पनि समाधानको विकल्प त होइन नि ! अहिलेको अवस्थामा महाधिवेशनको विकल्प पनि छैन र भोलिका दिनमा हुनसक्ने जोखिमलाई हेरेर गलत नजिर कायम गर्नुपर्छ भन्ने पनि हैन । हामी नियमित रुपमा सम्हालिएर अगाडि बढ्नु पर्दछ ।’  

हामीले नयाँ पुस्तालाई समेत जोडेर अगाडि बढाउन सक्नु पर्दछ । त्यस कारण केन्द्रीय समितिले आवश्यक निर्णय गरेर अगाडि बढ्न सकिनेमा उनले बताए । भविष्यलाई असर नगर्नेगरि कांग्रेसले आवश्यक कदम चाल्न आवश्यक रहेको उनको धारणा छ ।

दिनेश राई (धनकुटा जिल्ला सभापति) 

उनका अनुसार क्रियाशील समेत विवादको अवस्थामा ८ वटा तहको निर्वाचन गर्न अहिले नसकिने भएकाले यो मङ्सिरमा नियमित महाधिवेशन सम्भावना रहेको छैन । त्यस्तो अवस्थामा पार्टीलाई विशेष महाधिवेशनको आवस्क्ता रहेको उनले बताए । 

‘६५ प्रतिशत महाधिवेशन प्रतिनिधिले धनकुटामा हस्ताक्षर गरिसकेको अवस्था छ । कोशी प्रदेशमै ६५ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ । अव विशेष महाधिवेशन हुन्छ, राई भन्छन्, नयाँ जनादेशका लागि नयाँ नेतृत्व भन्ने अभियानका साथ हामी लागेका छौं । अहिले देश जोगाउनुपर्ने अवस्थामा हामी रहेका छौं ।’

हिमाल कार्की (उदयपुर जिल्ला सभापति) 

८१ प्रतिशत महाधिवेशन प्रतिनिधिले जिल्लाबाट विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएको दाबी गरेका कार्कीले रूपान्तरित कांग्रेस बनेर अगाडि बढ्नुपर्ने आवस्यक्ता औँल्याएका छन् । 

‘केन्द्रीय समितिले चाहेमा केही नहुने भन्ने हुँदैन, यो बैठकले आवश्यक निर्णय गरेमा नियमित महाधिवेशन पनि सम्भव छ । निर्णय मात्रै हो । केही दिनमै क्रियाशीलको काम सकिन्छ, उनले भने ‘नियमित महाधिवेशन असम्भव भने छैन ।’ 

त्यो नभएको खण्डमा विशेष महाधिवेशन नै विकल्प रहेको बताएका कार्की नयाँ कांग्रेस र रूपान्तरित कांग्रेस भएर आगामी निर्वाचनमा भाग लिनुपर्ने बताउँछन् । ‘अहिलेको यो विषम अवस्थामा नयाँ नीति र नयाँ नेतृत्वले नै पार्टीलाई अव सुदृढ बनाउँदछ भन्ने हो ।’ उनले भने ।

समयको अभाव देखाएर नियमित महाधिवेशनको म्याद थप गर्न नहुने बताउँदै विशेष महाधिवेशनबाटै भए पनि पार्टीलाई निकास दिनुपर्ने उनले बताएका छन् । 

तेजेन्द्र खनाल (ओखलढुङ्गा जिल्ला सभापति)

ओखलढुङ्गा जिल्ला सभापति खनाल नियमित महाधिवेशन नै गर्नुपर्छ भन्नेमा प्रस्ट छन् । ‘बाहिर कसले के हस्ताक्षर गर्यो भन्दा पनि पार्टीलाई नियमित रूपमै जानुपर्दछ ।’ उनले भने । 

खनालका अनुसार जिल्लामा पार्टीको अवस्था चलायमान रहेको छ । ‘केही अराजक गतिविधि गर्ने स्वार्थ समूहहरू सलबलाए पनि हामी पार्टीकै काममा लागिरहेका छौँ समग्रमा जिल्लाको स्थिति राम्रो छ ।’ उनले भने । 

केन्द्रले आवश्यक निर्णय गरेर नियमित महाधिवेशनको मिति तोकेमा आफूहरू सबै तहको अधिवेशन समयभित्रै सम्पन्न गर्ने उनले बताएका छन् ।

विष्णु कुमार राई (कारबाहीमा परेका खोटाङ जिल्ला सभापति) 

राईले महाधिवेशनलाई केवल पद बाँडफाँडको अभ्यास नभई नयाँ राजनीतिक दिशा तय गर्ने ऐतिहासिक अवसरको रूपमा लिनुपर्ने बताएका छन् । उनले भनेका छन्, “महाधिवेशनले कसैको गर्दनमा अनुशासनको तरवार बजार्ने होइन, पार्टीलाई सही दिशातर्फ उन्मुख गराउने जिम्मेवार अभिभावक उत्पादन गर्नुपर्छ ।”

उनको बुझाइमा नियमित महाधिवेशन नै पार्टी सुदृढीकरणको एक मात्र बाटो हो । “नियमित महाधिवेशन गर्न के अप्ठ्यारो छ ?” भन्दै उनले भने,“जुन जिल्लाले अझै क्रियाशील सदस्यता बुझाउन सकेका छैनन्, तिनलाई पछि राखेर भए पनि निर्धारित समयमा नियमित महाधिवेशन गर्नुपर्छ ।”

उनले पार्टीभित्रका नेताहरूबिचको आपसी आरोप–प्रत्यारोप, निषेध र असहिष्णुतालाई अन्त्य गर्दै ‘कसैले कसैलाई निषेध होइन, सबैलाई समेट्ने’ नीतिमा फर्किनुपर्ने बताएका छन् । 

२०७९ सालको प्रतिनिधिसभा चुनावमा अन्तर्घात गरेको भन्दै विष्णु कुमार राईमाथि पार्टीले अनुशासन सम्बन्धी कारबाही गरेको छ । अहिले खोटाङ कांग्रेस भने नेतृत्वविहीन अवस्थामा रहेको छ ।

नेताहरुले राई सहित कारबाहीमा परेका नेताहरूको कारबाहीको फुकुवाका लागि जोड बल समेत गरिरहेका छन् ।

विनोद वान्तवा (भोजपुर जिल्ला सभापति)

यथास्थिबाट कांग्रेस पार्टी चल्न नसक्ने बताएका जिल्ला सभापति वान्तावा पार्टीलाई रूपान्तरण गर्नुको विकल्प नभएको दाबी गर्दछन् । जसरी हस्ताक्षर समेत सङ्कलन भएको छ यसको महत्त्व बुझ्नुपर्ने उनको धारणा छ । 

‘अहिलेको विकल्प भनेको निर्वाचन नै हो । निर्वाचनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प पनि छैन । त्यसमा पनि कांग्रेस पार्टी आफूलाई केही न केही परिवर्तन गराएर निर्वाचनमा जानु पर्दछ ।’ उनले भने, ‘अहिलेको नेतृत्वमा पार्टी निर्वाचनमा जान पनि सक्दैन ।’

बान्तावाले सबै सच्चिएर अगाडि बढ्न आवश्यक रहेको बताउँदै कसैले पनि पद मेरो हो र मेरै हुनुपर्छ भन्ने भन्न नहुने उल्लेख गरे । ‘यत्रो इतिहासमै नभएको विनाश देशमा भएको छ । भोली म पनि प्रदेश सभा सदस्य र जिल्ला सभापति पनि हो । मैले पनि छोड्ने अवस्थामा छोड्नुपर्दछ ।’ उनले भनेका छन् । 

अर्जुन बहादुर तुम्बाहाम्फे (तेह्रथुम सभापति)

आफ्नो मात्रै नभएर तेह्रथुम कांग्रेसका तमाम कार्यकर्ताको भावना पार्टीलाई कुनै न कुनै रुपमा ‘रिर्फम’ गर्नुपर्ने आवस्यक्ता रहेको बताएका तुम्बाहाम्फेले नियमित महाधिवशेन नभएपनि विषेशमहाधिवेशनबाटै भएपनि त्यो आवस्यक रहेको बताएका छन् । 

जिल्लाबाट त्यसअनुसार बहुमत भन्दा बढी मधाधिवेशन प्रतिनिधिको हस्ताक्षर समोत बुझाएको बताएका उनले भने,‘अब निर्वाचन मै जानुपर्छ भन्ने हो । हामीले यस्तो अबस्थमा कसरी निर्वाचनमा जाने ? केही परिवर्तन भएर हामी निर्वाचनमा जानुपर्दछ ।’

निकासको बाटो महाधिवशेन नै रहेको बताएका उनले नियमित महाधिवेशन गर्न प्रकृया पुरा गर्न समय लाग्ने भएकाले क्रियासिल विवाद समेत भएकाले विषेश महाधिवेशन नै गर्नुपर्ने बताए । उनले भने, ‘केन्द्रीय समितिले नियमित महाधिवेशन नै समयमै गर्ने भनेर गर्नुपर्छ भन्ने आयो भने, हामी जिल्लामा थप खटिएर सबै तहका अधिवेशन सम्पन्न गर्न लाग्छौं ।’

नामगेलु शेर्पा (सोलुखुम्बु जिल्ला सभापति)

हस्ताक्षर अभियानलाई विशेष महाधिवेशन भन्दा पनि नियमित महाधिवेशनका लागि दबाब दिनका भएको भन्ने बुझेका जिल्ला सभापति शेर्पाले नियमित अधिवेशनलाई नै जोड दिएका छन् । 

‘यो कार्यसमितिको समय लामो भए त विशेष गर्न ठिकै होला अब दुई महिना पनि कार्यकाल नभएको अवस्थामा विशेष महाधिवेशन गरेर के हुन्छ ?, पार्टीले उपयुक्त निर्णय गरेर नियमित महाधिवेशनतर्फ हामी जानुपर्छ ।’ उनले भने । 

शेर्पाले केही समय थप गरेर भए पनि नियमित महाधिवेशन गर्न सकिने तर्क गरे । उनका अनुसार कार्यकालको अन्तिम समयमा विशेष महाधिवेशन उपयुक्त पनि होइन । 

अनन्त कुमार गौली (का.वा.सभापति सङ्खुवासभा)

विशेष महाधिवेशनको आवस्यक्ता नदेखेका गौलीले पार्टीलाई केही समय म्याद थप गरेरै भए पनि नियमित महाधिवेशन गर्नुपर्ने बताए । ‘खास गरी विशेष महाधिवेशनको अवधि चाहिँ कति हो ? त्यो स्पट पनि छैन । १ वर्षकै लागि हुने र कोही एक व्यक्ती नेता हुनकै लागि हुने हो भने त्यसको पनि के अर्थ भयो, ४ वर्षकै लागि हुने भए पनि नयाँ मान्छेले चुन्न पाउनुपर्यो होला ।’ उनले भने ।

गौलीले जिल्लामा कुनै अवाञ्छित तत्त्व नभएको स्पट पार्दै जनतामा जान सक्ने अवस्था रहेको प्रस्ट्याएका छन् । उनले भनेका छन्,‘जनतामा जान नसक्ने भन्ने हुनै सक्दैन तर हामीले पार्टी स्पष्ट भएर अगाडि बढ्नुपर्ने हुन्छ ।’

केन्द्रले चाहेमा २ महिनामा धेरै काम गर्न सकिने बताएका गौलीले स्पट रोडम्याप सहित महाधिवेशनमा होमिनु आवश्यक रहेको बताए । ‘त्यसमा महिना दिन नै थप गरेर भए पनि महाधिवेशन गर्न सकिन्छ ।’ उनले भने । कोही नेता नै बन्नु छ भने किन विशेष गर्नपर्यो कार्यवाहक दिए पनि भइहाल्यो नि !’

गजेन्द्र प्रसाद तुम्यांङ् (ताप्लेजुङ जिल्ला सभापति)

विगत भन्दा फरक ढङ्गले पार्टीलाई उठाउनुपर्दछ भन्ने कुरामा स्पष्ट रहेका तुम्यांङ् विशेष महाधिवेशन नै समाधान होइन भन्ने कुरालाई जोड दिन्छन् । 

‘आफू रूपान्तरण हुने हो पहिलो नम्बरमा । अहिले पार्टीसँगै देशसमेत सङ्कटमा परेको यो अवस्थामा शेरबहादुर देउवा ज्यू आफै आक्रमणमा परेको यो बेलामा उपयुक्त होइन भन्ने हो ।’ उनले भने । 

त्यसै पनि शेरबहादुर देउवाले अव नेतृत्व नलिने बताएको उल्लेख गरेका तुम्यांङ्ले केही समय थप गरेरै भए पनि नियमित महाधिवेशन गर्न सकिने बताए । उनले नेताहरूको प्रवृत्ति परिवर्तन हुनुपर्ने उनले बताए । 

विशेष महाधिवेशनले केन्द्रीय नेतृत्व मात्रै परिवर्तन हुने उल्लेख गरेका उनले परिवर्तन तल्लो तहबाटै हुनुपर्ने र त्यसको लाई नियमित अधिवेशन नै आवश्यक हुने बताएका छन् । पार्टीका नीतिलाई सही तरिकाले कार्यान्वयन गर्न सकियो भने पनि धेरै समाधान निस्कने उनले बताए । 
 

 

प्रतिक्रिया

खेमराज सापकोटा
लेखकको बारेमा
खेमराज सापकोटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार