धरानबाट २६८ किलो र इटहरीबाट २५ किलो गाँजा बरामद, दुई जना पक्राउ

आइतबार, ३० कार्तिक २०८२

विराटनगर । कोशी प्रदेशमा लागुऔषध ओसारपसारविरुद्ध प्रहरीले चलाएको विशेष अपरेसन अन्तर्गत धरान र इटहरीबाट करिब तीन क्विन्टल गाँजा बरामद भएको छ। शनिबार राति र साँझ दुई छुट्टाछुट्टै स्थानबाट बरामद भएको गाँजामध्ये धरानबाट मात्रै २६८ किलो गाँजा भेटिएको कोशी प्रदेश प्रहरीका एसपी केवश थेवेले जानकारी दिए।

धरान उपमहानगरपालिका–१७ र २० को सिमानामा पर्ने चम्पुले खोलाको जंगल क्षेत्रमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले राति ११ः२५ बजेतिर ठूलो परिमाणको गाँजा बरामद गरेको हो। प्रहरीले गाउँबाट जंगलतर्फ पछ्याइरहेको टोलीलाई देख्नेबित्तिकै करिब १०–११ जनाको समूहले बोकेका बोराहरू फालेर अन्धकारमै फरार भएको थियो। प्रहरीले त्यही अवस्थामा छाडिएका १० वटा बोरामा प्याक गरिएको कुल २६८ किलो गाँजा नियन्त्रणमा लिएको हो।

बरामद गरिएको गाँजा सुरक्षित राखी इलाका प्रहरी कार्यालय धरानमार्फत थप अनुसन्धान अघि बढाइएको एसपी थेवेले बताए। फरार समूहको पहिचान र समात्न व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, शनिवार साँझ सुनसरीको इटहरी–१३ सोमबारे क्षेत्रमा प्रहरीले २५ किलो गाँजा बरामद गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त टोलीले गणेश पेट्रोल पम्पअगाडिबाट २ बोरा गाँजा सहित दुई जनालाई साँझ ५ः४० बजे पक्राउ गरेको हो। पक्राउ पर्नेमा इटहरी–१३ का २४ वर्षीय आकाश पटेल र २७ वर्षीय रवि सरदार रहेका छन्।

दुवैलाई नियन्त्रणमा लिएर बोरा खोल्दा २५ किलो गाँजा फेला परेको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरूमाथि लागुऔषध ऐनअन्तर्गतको मुद्दा दर्ता गर्ने तयारीसहित उनीहरूलाई हाल इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार