खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयको वर्षौँदेखिको समस्या अन्त्य

आइतबार, ३० कार्तिक २०८२

भोजपुर। षडानन्द नगरपालिका–७ र ११ लाई जोड्ने खकुवाखोलामा ८० मिटर लामो झोलुङ्गे पुल बनेपछि जोखिम मोलेर काठको फड्केबाट खोला पार गर्दै आएका स्थानीयवासी अहिले सहज आवतजावतमा पुगेका छन्। पुल निर्माणसँगै पुस्तौँदेखिको समस्या अन्त्य भएको स्थानीयले बताएका छन्।

बर्खामा खोला ठूलो हुँदा खेतमै बास बस्नुपर्ने अवस्था समेत सिर्जना हुने गरेको उल्लेख गर्दै स्थानीय चतुरमाया मगरले पुल बनेपछि ठूलो राहत पाएको बताइन्। “दैनिकजसो खेती जाँदा खोला तर्नुपथ्र्यो, ठूलो भेल आएपछि फड्के बगाएर लैजाने अवस्था हुन्थ्यो,” उहाँले भनिन्, “अब भने सुरक्षित छ, पुरानो जोखिमपूर्ण बाटोको अन्त्य भएको छ।”

स्थानीय दीपबहादुर मगरका अनुसार झोलुङ्गे पुलले दुई वडाका बासिन्दालाई प्रत्यक्ष लाभ पुगेको छ। विशेषगरी बर्खामा अत्यधिक समस्या हुने करतब पुल बनेपछि दैनिकी सहज भएको उहाँको भनाइ छ।

रु ४८ लाख १२ हजार ८२५ लागतमा निर्माण सम्पन्न गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले बताए। स्थानीयको दीर्घकालीन समस्या समाधान गर्न पुल निर्माण गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। नगरपालिकाले अन्य आवश्यक झोलुङ्गे पुलको सूची संकलन गरी योजनाबद्ध रूपमा निर्माण कार्य अघि बढाइरहेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार