- रञ्जना बास्ताकोटी
पाटन अस्पतालको पुरानो भवन अगाडि म उभिइरहेको थिएँ। आकाश बदलिएजस्तै थियो, घाम लुक्दै थियो। त्यत्तिकैमा एउटा थाकेको स्वर कानमा पर्यो,
“छोरा आयो कि भनेर सोधिदिनु न बाबु, अलि देखिँदैन आँखाले।”
घुमेर हेर्दा एउटा वृद्धा बेन्चमा बसेकी थिइन्। पुरानो साडी, काँधमा झुन्डिएको कपडाको झोला र अनुहारभरि समयले कोरेका रेखाहरू। उनको आँखामा चिन्ता र आशा मिसिएको थियो। म नजिक गएँ।
“कसलाई पर्खनु भएको ?”
“छोरालाई,” उनले छोटो उत्तर दिइन्, “भित्र औषधि लिन गयो।”
म चुप लागेँ। अस्पतालको घडी टिक–टिक गर्दै थियो। आधा घण्टा बित्यो, एक घण्टा बित्यो। छोरा आएन।
उनले आफैँ बोलिन्,
“यस्तै हो, सधैँ भन्छ—आउँछु भनेर। म बूढी भएपछि त झन् बिर्सिन थालेको छ।”
स्वरमा गुनासो थियो, तर त्यसभन्दा बढी आत्मस्वीकृति।
कुरा गर्दै जाँदा थाहा भयो—उनको नाम पार्वती रहेछ। गाउँबाट काठमाडौं आएकी, आँखाको अपरेसनको पालो कुरिरहेकी। लोग्ने बितेको धेरै भइसकेको थियो। जीवनको सम्पूर्ण भरोसा एउटै छोरामा थियो।
“सानो छँदा त देवता जस्तै ठान्थेँ,” उनले मुस्कुराउँदै भनिन्,
“सबैभन्दा राम्रो स्कुल, राम्रो लुगा, राम्रो खान। छोरी जन्मेको भए त के हुन्थ्यो होला, तर भगवान्ले छोरा दिए भनेर गर्व गर्थेँ।”
उनको त्यो गर्वको पछाडि थोरै डर पनि मिसिएको थियो—वंश सकिन्छ कि भन्ने डर।
उनले भनिन्,
“छोरा भएपछि सबै ठीक हुन्छ भन्ने सोचेकी थिएँ। कुल बाँच्छ, नाम चल्छ भन्ने लाग्थ्यो।”
मैले केही भनिनँ।
अचानक उनको मोबाइल बज्यो। उनले हतार–हतार उठाइन्।
“कहाँ छस् ?”
केही सेकेन्ड मौनता।
उनको अनुहार फेरियो।
“फेरि ? … म त यहाँ एक्लै छु नि … ठीक छ।”
फोन राखिन्। आँखामा आँसु टल्किए।
“आज आउँदैन रे,” बिस्तारै भनिन्।
त्यतिबेला मलाई मेरो आफ्नै छिमेकी सम्झना आयो—जसले छोरीहरूलाई पढाएर विदेश पठाएका थिए। छोराको मुख हेर्ने बाध्यता थिएन, तर सन्तानको साथ थियो।
मैले पार्वती आमालाई पानी दिएँ। उनले गहिरो सास फेरिन्।
“तिमीलाई थाहा छ बाबु,” उनले भनिन्,
“छोराले आजभोलि काम गर्दैन। साथीहरू, रक्सी, तास… म बोल्न खोजे भने रिसाउँछ।”
उनको स्वर काँपिरहेको थियो।
“छोरीजस्तो सन्तान हुन्थ्यो भने सायद यस्तो हुँदैनथ्यो,” उनी आफैँसँग भुतभुताइन्।
त्यही बेला एउटा युवक अस्पतालको गेटबाट निस्कियो। चाउरिएको जिन्स, आँखा रातो, चाल लरबरिएको। पार्वती आमाले टाढैबाट चिन्नुभयो।
“त्यही हो,” उनले भनिन्, “मेरो छोरा।”
उनी दौडेर गइनन्। बरु उभिएर हेरिरहिन्। युवक नजिक आयो।
“आमा, चाँडै हिँडौँ,” उसले अल्छी स्वरमा भन्यो।
उनले केही सोधिनन्। गुनासो गरिनन्। शायद धेरै बोलेर थाकिसकेकी थिइन्।
छोराले एक युवतीलाई पनि सँगै ल्याएको थियो। युवती मौन थिइन्, अनुहार शून्य।
“यो को ?” पार्वती आमाले सोधिन्।
“मेरो साथी,” उसले लापरवाहीपूर्वक भन्यो,
“सँगै बस्छु अब।”
आमाको अनुहारमा एक क्षण खुसी झल्कियो—वंश अघि बढ्ने आशा।
“बुहारी ?”
“सायद,” युवक हाँस्यो।
पार्वती आमाले युवतीको हात समातिन्।
“घर जाऔँ, छोरी,” भनिन्।
त्यो रात म उनीहरूलाई त्यहीँ छोडेर फर्किएँ।
भोलिपल्ट बिहान अखबार पल्टाउँदा एउटा सानो खबरले मेरो ध्यान तान्यो—
“मानसिक अवस्था कमजोर युवती बेपत्ता।”
फोटो हेर्दा, हिजो अस्पतालमा देखेकी त्यही युवती थिइन्। मन भारी भयो। मलाई पार्वती आमाको अनुहार सम्झना आयो—वंश जोगिने आशामा चम्किएको।
तर वंश केवल जन्मले होइन, कर्मले जोगिन्छ भन्ने सत्य उनले ढिलो बुझिन्।
छोरालाई देवता बनाउँदा, मानिस बनाउने जिम्मेवारी छुटेछ।
र जब जिम्मेवारी छुट्छ, वंश केवल छाया मात्र रहन्छ—नाम त बाँच्छ, तर मानवीयता हराउँछ।
यो कथा मध्यान्न दैनिकबाट साभार गरिएको हो।
प्रतिक्रिया