काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मधेश प्रदेशको सप्तरी क्षेत्र नम्बर ३ पनि चर्चामा रहेको छ । यस क्षेत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
सप्तरीको क्षेत्र नम्बर ३ मा रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका, राजगढ गाउँपालिका, शम्भुनाथ नगरपालिका र डाक्नेश्वरी नगरपालिका समावेश रहेका छन् । निर्वाचन आयोगका अनुसार सप्तरी-३ मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ११ हजार ८७१ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १४४ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९ : २०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका दिनेश कुमार यादव विजयी भएका थिए । उनले २६ हजार १६६ मत प्राप्त गरेका थिए । त्यस्तै दोस्रो स्थानमा रेका एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत प्राप्त गरेका थिए । त्यस्तै जनमतका अनिश अन्सारीले १५ हजार ११४ मत पाएका थिए ।
त्यस्तै २०७९ मा समानुपातिकतर्फ भने जनमत पार्टीले यस क्षेत्रबाट १८ हजार ३४० मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली काँग्रेसले १८ हजार २४९ मत पाएको थियो । त्यस्तै गरि जसपा नेपालले १० हजार १५३ मत पाएको थियो भने एमालेले ९ हजार ५९४ मत प्राप्त गरेको थियो ।
उम्मेदवार- २०८२: यस निर्वाचन क्षेत्रबाट राजनीतिक दल र स्वतन्त्र गरेर २२ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव यस पटक सप्तरी-३ मा उम्मेदवार बनेका छन् । यादव २०७९ को निर्वाचनमा सप्तरी-२ मा जनमतका सिके राउतसँग पराजित भएका थिए । त्यसपछि यादव २०८० मा भएको उपनिर्वाचनमा बारा-२ बाट उम्मेदवार बन्दै जित हासिल गर्दै प्रतिनिधि सभामा पुगेका थिए ।
त्यस्तै यस क्षेत्रबाट काँग्रेसबाट दिनेश कुमार यादव फेरी उम्मेदवार बनेका छन् भने एमालेबाट पनि ताराकान्त चौधरी दोहोरिएका छन् । त्यस्तै यस क्षेत्रमा नेकपाबाट अरुण कुमार शाह, रास्वपाबाट अमर कान्त चौधरी र जनमतबाट सुरेन्द्र [प्रसाद शर्मा उम्मेदवार बनेका छन् ।
निष्कर्ष: अघिल्लो निर्वाचनमा माओवादी, काँग्रेस र जसपा नेपालको गठबन्धन भएकाले काँग्रेसले यस क्षेत्रमा सहज जित हासिल गरेको थियो । तर यस पटक सबै दलबाट उम्मेदवार रहेकाले सबैलाई मत बाडिने देखिएको छ । २०७९ को समानुपातिक मतलाई आधार मान्दा जनमत र काँग्रेसको मत लगभग बराबर रहेको छ ।
उपेन्द्र यादवको व्यक्तिगत प्रभाव बढी रहेकाले उनको यस क्षेत्रमा उम्मेदवारी पछि जसपाको मत बढ्ने त हुन्छ नै तर बलियो अवस्थामा रहेका जनमत र काँग्रेससँगको चुनौतीको सामना भने गर्नुपर्ने नै देखिन्छ । काँग्रेस सभापति गगन थापा मधेशमा उम्मेदवार बनेपछि पर्ने प्रभाव र देशभर देखिएको रास्वपाको प्रभावको सामना यादवले कसरी गर्छन भन्ने हेर्न बाँकी छ ।
यसरी हेर्दा यस क्षेत्रमा जसपा नेपाल, काँग्रेस र र जनमतबीच प्रतिष्पर्धा हुने देखिएको छ । रास्वपाको पक्षमा यस क्षेत्रमा मतदाता खुल्नेक्रममा नै रहेकाले उनीहरुको मत कति हुन्छ, उनीहरु प्रतिष्पर्धामा वा जित्ने अवस्थामा आउछन् या आउदैनन अहिले नै भन्ने अवस्था रहेको छैन ।
प्रतिक्रिया