सनम हत्या प्रकरण: उच्च अदालतको नयाँ फैसला, गोरेलाई १० वर्ष जेल सजाय थप

सोमबार, २६ माघ २०८२

विराटनगर : बहुचर्चित सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको मुद्दामा जिल्ला अदालत मोरङले गरेको फैसला उच्च अदालत विराटनगरले आंशिक रूपमा उल्टाएको छ।

केही प्रतिवादीको हकमा जिल्लाको फैसला उल्टिएको छ भने अधिकांशको हकमा जिल्लाकै फैसला सदर भएको उच्च अदालतका उपरजिष्ट्रार सन्तोष पोखरेलले बताए।

वादी नेपाल सरकार र प्रतिवादीतर्फका ६ जनाबाट परेको पुनरावेदनलाई लगाउमा राखेर उच्च अदालतका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासमा माघ २० गतेदेखि नियमित सुनुवाइ भएको थियो। नियमित सुनुवाइपछि आइतबार राति मुद्दाको फैसला सुनाइएको हो।

अभियुक्तमध्ये कृष्ण भनिने नरेन्द्र कार्की, मोहन काफ्ले, गोरे भनिने चूडामणि उप्रेती, लाक्पा शेर्पा, भोजराज भण्डारी र भविन तामाङले आफैं पुनरावेदन गरेका थिए भने अन्य ७७ प्रतिवादीमध्ये बाँकीको हकमा वादी नेपाल सरकारले पुनरावेदन गरेको थियो।

उच्च अदालतले मुख्य अभियुक्त गोरे, लाक्पा शेर्पा र भविन तामाङको पुनरावेदन जिकिर नपुग्ने ठहर गरेको छ। कार्की, काफ्ले र भण्डारीको हकमा भने जिल्लाले सुनाएको २० वर्ष कैद सजाय उल्टाउँदै १०–१० वर्ष मात्रै कैद सजाय सुनाइएको छ।

कर्तव्य ज्यान मुद्दाका मतियार मदन सिलवालको हकमा जिल्लाको फैसला उल्टाउँदै उच्चले ३ वर्ष कैद सजाय सुनाएको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेलाई थप १० वर्ष कैद सजाय भएको छ।

उच्च अदालतले सबै प्रतिवादीको हकमा संगठित अपराध र भन्सार चोरी निकासीसम्बन्धी दाबी नपुग्ने ठहर गरेको छ।

करिब ३८ क्वीन्टल सुन तस्करी र सनमको हत्यासँग जोडिएको यो मुद्दा जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले २०७८ असोज १९ गते पहिलोपटक फैसला गरेको थियो।

मूल र पुरक अभियोग गरेर ७७ जनालाई प्रतिवादी बनाइएकोमध्ये पक्राउ परेका र अदालतमा हाजिर भएका ५६ जनाको हकमा पहिलोपटक फैसला भएको थियो भने २१ जनाको मुद्दा मुलतबीमा राखिएको थियो। पछि फरार प्रतिवादी अदालतमा हाजिर भएपछि न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले २०८१ पुस २३ गते दोस्रोपटक फैसला गरेको थियो।

दोस्रोपटकको फैसलामा कालु, काले भनिने कृष्णगोपाल अग्रवाल, एमके मामा भनिने मोहनकुमार अग्रवाल, बाले भनिने सुनीलकुमार अग्रवाल, रमेश उप्रेती, प्रयास पराजुली, सन्दीप खड्का, अर्जुनप्रसाद पोखरेल, आरबी भनिने रक्षा भण्डारी लगायतले भन्सार ऐन र संगठित अपराध निवारण ऐनअन्तर्गत सफाइ पाएका थिए।

भविन तामाङले पनि सो दाबीबाट सफाइ पाएका थिए तर कर्तव्य ज्यान मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएको थियो, जुन उनले पहिले नै भुक्तान गरिसकेका थिए।

पहिलोपटकको फैसलामा गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाइएको थियो।

अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेको कसुर कायम भएको थियो। भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय सुनाइएको थियो।

२०७४ माघ ९ गते दुबईबाट काठमाडौं ल्याइएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाएको आरोपमा गोरेको समूहले सनमको हत्या गरेको थियो।

२०७४ फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै उर्लाबारी–१ मा सनमको हत्या गरिएको थियो। हत्यापछि शव धरानस्थित निर्वाणा कन्ट्री क्लबमा राखेर पछि विराटनगर ल्याइएको थियो, जहाँबाट शव बरामद भएको थियो।

अनुसन्धानका क्रममा गोरे मुख्य नाइके रहेर २०१५ जुलाईदेखि २०१६ अगस्टसम्म दुबईबाट नेपाल हुँदै करिब ३८ क्वीन्टल सुन तस्करी भएको खुलेको थियो। तर तस्करीको सुन हालसम्म बरामद हुन सकेको छैन। २०७५ जेठ ९ गते गोरेलाई पक्राउ गरेर मोरङ अदालतमा उपस्थित गराइएको थियो।

सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना, सुन चोरी पैठारी तथा निकासी, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ शीर्षकमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

अभियोग पत्रमा करिब १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम सुन अवैध रूपमा आयात गरिएको दाबी गरिएको थियो।

यस घटनाको छानबिनका लागि सरकारले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो।

अनुसन्धानका क्रममा पूर्व तथा बहालवाला प्रहरी अधिकारी, व्यापारी, विमानस्थल कर्मचारी र अन्य व्यक्तिहरूको संलग्नता दाबी गरिए पनि प्रमाण अभावमा धेरैले सफाइ पाएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार