झापा : प्रतिनिधि सभा निर्वाचनको मिति नजिकी रहेको समयमा उम्मेदवारहरु मतदातालाई आफनो पक्षमा पार्न मत माग्ने अभियानमा सक्रिय रहदै आएका छन । राजनीतिक रुपमा सधै चर्चामा रहने झापामा पनि उम्मेदवारहरु अहिले मतदाता रिझाउन मतदाताको घर दैलोमा पुगिरेहका छन् ।
यही क्रममा झापा क्षेत्र नम्बर ४ का उम्मेदवारहरु पनि आफना चुनावी एजेण्डा सहित मतदातासंग मत माग्न पुगिरहेका छन । तर सो क्षेत्रमा मत माग्न आउने उम्मेदवारहरुसंग मतदाताहरुले खैई कन्काइको पुल भनेर पुल मागिरहेका छन्।
हुलाकी राजमार्ग अन्तर्गत झापाको क्षेत्र नम्बर ४ मा पर्ने गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ र झापा गाउँपालिका वडा नम्बर २ जोड्ने गरी कन्काई नदीमा १४ वर्ष अघि निर्माण थालिएको पक्का पुल नजिकैको बाँसको पुललाई देखाउदै मत माग्न आउने उम्मेदवारहरुलाई मतदाताहरु पुल माग्ने गरेका हुन् ।
कन्काई नदीमा पक्का पुल निर्माणका लागि २०६८ सालमा सम्झौता गरेर पाँचपटक सम्म पनि समय थप्दा समेत पुरा नभएको पुल र बाँसको भाटाको पुलबाट जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यतालाई देखाउदै मतदाताहरु उम्मेदवारहरुलाई यो पुलले तपाईहरुलाई जिस्काई रहेको छ भने हामीलाई यात्रामा समस्या बनाउदै आएको छ । कहिले पुल बन्छ भन्छन मतदाताहरु ।
पटकपटक समय थप्दा समेत पुलको निर्माण कार्य सम्पन्न नगरेपछि सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालय मातहत योजना कार्यालय, इटहरीले पप्पु महादेव–खिम्ती संयुक्त उपक्रम जेभी सँग सम्झौता अन्त्य गर्दै कालो सूचिमा राखेको र नयाँ ठेक्का नलागि सकेको कारण पुल निर्माण कार्य पुनः अघि बढ्नेमा अन्यौलता बढेको छ ।
७२३ मिटर लामो पुल निर्माणका लागि १४ वर्षमा पनि पुरा नभएपछि चुनावका समयमा मत माग्न आउने उम्मेदवारहरुसंग मतदाताहरुले कन्काई नदीमा पुल मागेका हुन। समय समयमा स्थानीयले पुल निर्माणको माग राख्दै विभिन्न खाले दवावमुलक कार्यक्रम गरेपनि पुल निर्माण कार्यले गति लिन नसकिरहेको समयमा उम्मेदवार भन्दा पनि मतदाताहरुले कन्काई नदीको पुललाई चुनावी मुद्धा वनाउन वाध्य भएका हुन ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि मत माग्न आउने सबै उम्मेदवारहरुसंग झापा क्षेत्र नम्बर ४का मतदाताहरु प्रश्न गर्छन कन्काई नदीमा पुल कहिले बन्छ । कन्काई नदीमा पुल नहुँदा आफूहरुले वर्षैंदेखि सास्ती व्यहोर्नु परेको, व्यापार–व्यवसाय सञ्चालनमा असर परेको, वर्षायाममा आवतजावतमा नै समस्या हुने गरेको, वर्षेनि बाँसको अस्थायी पुल निर्माण गरेर जोखिमपूर्ण आवतजावत गर्नु परेको दुखेसो पोख्दै उनीहरुले पुल निर्माणलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्ने गरेका छन् ।
हामी प्रतिनिधिसभा सदस्यका उम्मेद्वारहरुले आफ्ना एजेण्डा सुनाउनु पूर्व नै यस ठाउँमा स्थानीयले पुल निर्माणको विषय उठाउने गरेका छन नेपाली कांग्रेस झापाका सभापति समेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउकुमार थेवे लिम्बूले भने ।
कन्काई माई र सानो माईको कटान र डुवानबाट दक्षिणी झापाको झापा गाउँपालिका क्षेत्रका स्थानीयवासी पीडित बन्दै आएका छन ।
उनले भने– यस अघि निर्वाचित जनप्रतिनिधिले देखाएको आश्वासनका कारण गाउँमा सहज रुपमा मत माग्न सक्ने अवस्था पनि छैन । बिगतमा आफूले गरेका विकास निर्माणका कामलाई स्मरण गराउँदै अहिले मतादाता भेट्ने काम भइरहेको उनले बताए ।
झापा गाउँपालिका वडा नम्बर १ सीतुमारीका छवि पौडेल अब मत माग्न आउने उम्मेदवारले विगतमा सुनाए जस्तो आश्वासनमा हामी अल्मिलिँदैनौं । जसले कन्काई नदीमा पुल , कन्काई माईमा तटवन्ध र दिघलबैंक नाका खोल्ने प्रतिबद्धता जनाउँछ, उसैलाई हामी मत दिन्छौं ।
झापा क्षेत्र नम्वर ४मा ६६ हजार २ सय ८३ पुरुष र ६४ हजार ४ सय २८ महिला गरी एक लाख ३० हजार ७ सय १२ जना मतदाता छन् ।
झापा क्षेत्र नम्बर ४मा नेपाली कांग्रेसबाट देउकुमार थेबे, नेकपा एमालेबाट लालप्रसाद साँवा लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शम्भुप्रसाद ढकाल सुस्केरा, नेकपा माओवादीबाट ताराबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्तिप्रसाद सिटौला, श्रम संस्कृति पार्टीबाट अमृतादेवी राई, नेपाली कम्युनिष्ट पार्टीबाट पुरुषोत्तम चुडाल राजु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट किरणलिम्बू लिङ्देन, नेपाल मजदुर किसान पार्टीबाट तुलसीलक्ष्मी दुमरु, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट दिलीप धिमाल, जनता समाजवादी पार्टी नेपालबाट पल्टन ताजपुरिया, उज्यालो नेपाल पार्टीबाट सन्तोष तामाङ, जनमत पार्टीबाट लोथ्रो हेमरम, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी–पुष्पलाल बाट टेकबहादुर अधिकारी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट त्रिनारायण राजवंशी र स्वतन्त्र उम्मेदवार साजन माझी गरी १६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
प्रतिक्रिया